संसदीय दल कब्जा गर्ने रणनीतिमा कांग्रेस युवा नेता

संसदीय दल कब्जा गर्ने रणनीतिमा कांग्रेस युवा नेता


काठमाडौं– प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ लज्जास्पद हार व्यहोरेको कांग्रेसका युवा नेताहरुले संसदीय दल कब्जा गर्ने रणनीति बनाएका छन् । उनीहरुले संसदीय दलमा सभापति शेरबहादुर देउवालाई रोक्न हरसम्भव प्रयास लगाउने भएका छन् ।

चन्द्र भण्डारी र गगन थापाको अगुवाईमा दैनिकजसो बैठकमा रहेका युवा नेताहरुले संसदीय दल कब्जा गर्ने रणनीति बनाएका हुन् । ‘संसदीय दलमा गगन थापालाई अगाडि सार्छौं,’ छलफलमा सहभागी एक नेताले भने, ‘सम्भवत: शेरबहादुर दाइलाई रोक्छौं ।’

ती युवा नेताका अनुसार समानुपातिक सांसद चयन नगरेसम्म भने अभियानलाई सार्वजनिक गरिनेछैन । चुनावमा पार्टी पराजयको समीक्षा गर्न गत बुधबार बसेको युवा नेताहरुको  बैठकले केन्द्रीय कर्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ । बैठकको धेरै हल्ला भएपछि समानुपातिक छनोटमा चलखेल हुने आशंकाले अभियानलाई गोप्य बनाइएको छ ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, बद्रि पाण्डे, गुरु घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत थिए ।

बैठकमा युवा नेता गगन थापालाई संसदीय दलको नेता बनाउनुपर्ने माग गरिएको छ । केन्द्रीय सदस्य धनराज गुरुङले थापालाई संसदीय दलको नेता बनाउन सके पार्टीमा आमूल सुधार हुने विश्वास व्यक्त गरेका थिए । थापालाई संसदीय दलको नेता बनाउनुपर्ने प्रस्तावमा अन्य नेताहरु पनि सकारात्मक देखिएका छन् ।

देउवा निकट स्रोतले भने युवा नेताहरुको चलखेललाई गम्भीररुपमा लिइएको बताएको छ । ‘अप्ठ्यारो अवस्था आए समानुपातिक एकलौटी गरिन्छ,’ उनले स्पष्ट संकेत दिए, ‘भागबण्डा गरेर आधा आधा बाँडिदैन ।’

प्रत्यक्ष निर्वाचित २३ जना सांसदमा देउवा समूहका १६ जनाभन्दा बढी छन् ।

Logo