गणेशमान जयन्तीदेखि स्वास्थ्य सामग्री वितरण र जनचेतना अभियान चलाइने

गणेशमान जयन्तीदेखि स्वास्थ्य सामग्री वितरण र जनचेतना अभियान चलाइने


काठमाडौं ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसिआर परीक्षणबाट समेत पन्छिएकाले पहिलो चरणमा क्षेत्र नं ८ का नागरिक लक्षित अक्सिमिटर, मास्क लगायत औषधि वितरणसँगै जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए। स्वास्थ्य सामग्री वितरणसँगै चिकित्सकीय परामर्शसमेत दिइने जनाइएको छ । बिहान, दिउँसो र बेलुका तीन समूहमा चिकित्सकीय परामर्श उपलब्ध गराउन मोबाइल नम्बरसमेत सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको वडा नं. १३, १५, १९, २०, २३ र २४ एवं नागार्जुन नगरपालिका क्षेत्र नं ८ मा पर्छ । भोकालाई खाना खुवाउनेलाई समेत लखेटेर काठमाडौँ महानगरपालिकाले न्यूनतम मानवीय संवेदनासमेत देखाउन नसकेको नेता जोशीको आरोप छ । कोरोनाको महामारी शुरु भएको नौ महिना बितिसक्दा पनि सरकार नियन्त्रणमा कुनै काम नगरी आन्तरिक द्वन्द्वमा फसेको उनले बताए । जनचेतनामूलक अभियानसँगै काठमाडौँ क्षेत्र नं ८ लाई पूर्णरूपमा सही तरिकाले मास्क प्रयोग गर्ने क्षेत्रका रूपमा स्थापित गरिने लक्ष्य पनि प्रतिष्ठानले लिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष जोशीले बताए ।

यसैबीच मौसम परिवर्तनसँगै सचेत रहनु पर्नेमा जनस्वास्थ्यविद्ले जोड दिएका छन् । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले चिसो बढेसँगै मङ्सिर, पुस र माघ महिनामा सङ्क्रमण बढ्ने भएकाले सुरक्षितरूपमा बस्न आह्वान गरेका छन् । स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा सुधा शर्माले यस वर्षको तिहार, नेपाल संवत्, छठ लगायत पर्व मनाउँदा सचेत हुनुपर्ने बताइन् । दूरी कायम गरी मास्क लगाएर मात्र सांस्कृतिक परम्परालाई निरन्तरता दिनु पर्ने उनको सुझाव छ ।

Logo