किन गुमनाम छन् ट्रम्प र बाइडेन जस्तै राष्ट्रपति पदमा भिडिरहेका अरु हजारौँ उम्मेदवार ?

किन गुमनाम छन् ट्रम्प र बाइडेन जस्तै राष्ट्रपति पदमा भिडिरहेका अरु हजारौँ उम्मेदवार ?


वासिङटन ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको २३० वर्षे इतिहासमा जर्ज वासिंटन मात्रै त्यस्तो एक्लो उम्मेदवार हुन् जो स्वतन्त्र उम्मेदवारको रुपमा राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

नत्र अमेरिकाका दुई ठूला पार्टी डेमोक्रेट र रिपब्लिकनबाटै राष्ट्रपति बनेका छन् । अमेरिकाको राजनीति र चुनावमा विश्व समुदायको चासो त हुन्छ तर अति थोरैलाई मात्रै थाहा छ कि, यहाँ यी दुई पार्टी भन्दा अरु पार्टी पनि छन् भनेर ।

साथै चुनावमा अरु दर्जनौँ वा सयौँ पार्टीले भाग लिन्छन् । र हजारौँ उम्मेदवार हुन्छन् । राष्ट्रपति पदका लागि मात्रै हजारौँ नेताले उम्मेदवारी दिन्छन् । यसपटकको चुनाव अहिलेसम्मकै सबैभन्दा धेरै मतदाता भएकाले ऐतिहासिक मानिएको छ । त्यसो त, राष्ट्रपतिका लागि मात्रै दुई उम्मेदवार वाहेक पनि अरु १ हजार २ सय १४ जना प्रतिष्पर्धामा छन् ।

कलाकार, र्यापर, पास्चर, सामाजिक अभियन्ता लगायत विभिन्न पेशामा लागेका व्यक्तिहरुले पनि यस निर्वाचनमा भाग लिएका छन् । र्‍यापर कान्ये वेस्टले उम्मेदवारी घोषणा गर्दा त धेरै चकित परेका थिए । अमेरिकामा पछिल्लो समय विभिन्न आन्दोलन पनि भए । ती आन्दोलनका बीच थुप्रै युवा नेताहरु जन्मिए । तीमध्ये केहीले राष्ट्रपति पदका लागि उम्मेदवारी समेत दिएका छन् ।
उनीहरुलाई आफू निर्वाचित नहुने पहिल्यै थाहा छ । तर एउटा लोकतान्त्रिक देशमा दुई जनाबाट मात्रै राष्ट्रपति छान्नु उपयुक्त नभएको भन्छन् । अर्थात्, लोकतान्त्रिक देशमा धेरै विकल्पमध्येबाट नेता छान्नु जायज मानिन्छ ।

राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार जेड सिमोन्स भन्छिन्, ‘अहिलेका दुई विकल्प मात्रै राष्ट्रपतिका लागि छनोट हुन सक्दैनन् ।’ साथै उनी पहुँचको अवसर सबैमा पुग्नुपर्नेमा विश्वास गर्छिन् । सिमोन्ससँगै अरु थुप्रै श्रमजीवी वर्गका महिला, अधिकारकर्मीहरु समेत यतिबेला ह्वाइट हाउसको ‘रेस’मा छन् ।

तर उनीहरुमध्ये धेरैले सबै राज्यमा उम्मेदवारी दिएका छैनन् । यतिसम्म कि, केहीले त नाम मात्रैको उम्मेदवारी दिए । तीमध्ये तेस्रो शक्तिशाली पार्टीको रुपमा चिनिएको छ ग्रीन पार्टी । यसको तर्फबाट राष्ट्रपति पदका लागि होइ हकिन्स उठेका छन् भने एन्जेला वाकर उपराष्ट्रपति पदमा ।

होइ अमेरिकामा ग्रीन पार्टी स्थापनाका लागि अभियान गर्ने सुरुका नेतामध्ये एक हुन् । र न्युयोर्कबाट गभर्नरमा उठेका समेत थिए । यस्तै पर्यावरणीय मुद्दा, शान्ति, न्याय लगायत मानवीय मुद्दामा उनी सक्रिय आवाज उठाउने नेता हुन् ।

एन्जेला भने श्रमजीवी वर्गको वास्तविक प्रतिनिधि महिला हुन् । जातीय, आर्थिक समानताका लागि दशकौँदेखि लड्दै आएकी एन्जेला स्वयं श्रमजीवी महिला हुन् । खासगरी ग्रीन पार्टीले आर्थिक समानता, स्वास्थ्योपचारमा सबैको पहुँच, जलवायु परिवर्तनको असर, न्याय, दिगो विकास, हतियार र युद्धको अन्त्य जस्ता मानवीय मुद्दा उठाउँदै आएको छ ।

यस्तै अर्को छ, लिबर्टी पार्टी । यसको तर्फबाट डा. जो जोर्गेन्सन राष्ट्रपतिका लागि र जेरमी कोहेन उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् । दुबैले साउथ क्यारोलिनाबाट उम्मेदवारी दिएका हुन् । यसवाहेक एलायन्स पार्टीको तर्फबाट रोकी डे ला फुएन्ते राष्ट्रपतिका लागि र डार्सी रिचार्डसन उपराष्ट्रपतिका लागि उम्मेदवार हुन् ।

कन्स्टिच्युसन पार्टीको तर्फबाट डन ब्लांकेन्सिप राष्ट्रपति र विलियम मोहर उपराष्ट्रपतिका उम्मेदवार हुन् । सोसलिजम एण्ड लिबरेसन पार्टीका ग्लोरिया लारिभा राष्ट्रपति र सुनिल फ्रिम्यान उपराष्ट्रपतिका उम्मेदवार हुन् ।

यस्तै ब्रोक पिर्से र कार्ला बाल्लार राष्ट्रपति र उपराष्ट्रपति पदमा स्वतन्त्र उम्मेदवार हुन् । अमेरिकन सोलिडारिटी पार्टीको तर्फबाट ब्रायन कर्रोल राष्ट्रपति र अमर पटेल उपराष्ट्रपति पदमा उम्मेदवारी दिए ।

सोसलिस्ट वर्कर्स पार्टीका एलिसोन केनेडी र मालकोम जर्रेट क्रमशः राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार हुन् । यस्तै प्रभावशाली कलाकार कान्ये वेस्टले राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई उपराष्ट्रपतिमा साथ दिएकी छन् मिसेल टिडबलले ।

यस्तै अरु थुप्रै स्वतन्त्र तथा ब्यालेट प्राप्त नगरेका उम्मेदवार अमेरिकाको चुनावी प्रतिष्पर्धामा छन् । सामान्यतः चुनावी अभियान चलाउन ठूलो धनराशीको खाँचो पर्छ । उम्मेदवारले मिडियामा विज्ञापन दिने पनि चलन छ । जुन अत्याधिक खर्चिलो छ ।

रिपब्लिकन र डेमोक्रेटिक वाहेक अरु साना दल र स्वतन्त्र उम्मेदवारका तर्फबाट केही सांसदहरु भने सदनमा छिर्न सम्भव छ । अन्यथा, यही प्रक्रिया र तरिकाबाट अमेरिकामा साना दल र स्वतन्त्र उम्मेदवार राष्ट्रपति पदमा पुग्नु असम्भव जस्तै देखिन्छ ।

यद्यपि राजनीतिक र सामाजिक न्यायका मुद्दा उठाउनका लागि ठूलो दल भइरहनु पर्दैन । आज अमेरिकी चुनावमा उम्मेदवारी दिएका कतिपय स्वतन्त्र उम्मेदवार र साना पार्टीले यसअघि भएका ‘ब्ल्याक लाइभ्स म्याटर’, ‘मी टू’ लगायत विभिन्न आन्दोलनमा कुनै न कुनै भूमिका देखाएका थिए । त्यसो त, चुनावमा नजिते पनि उनीहरुले सरकारलाई दबाब दिइरहन सम्भव छ ।अन्नपूर्णबाट

Logo