दोस्रो चरणको मतदान सकिने वित्तिकै पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना सुरु गरिने

दोस्रो चरणको मतदान सकिने वित्तिकै पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना सुरु गरिने


 केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ मंसिर ।

निर्वाचन आयोगले आज एक पत्रकार सम्मेलन गरी बिहीबार दोस्रो चरणको मतदान सम्पन्न हुने वित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु गर्ने जनाएको छ ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले बिहीबार अपरान्ह ५ बजे मतदान सकिनै वित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरु हुने जानकारी दिएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका संलकन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरु गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको मतगणना एकै समयमा सुरु गर्ने सकिने व्यवस्था पनि मिलाएको छ । स्थानको अभाव भए उचित बन्दोबस्त गर्ने काम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको भएको पनि निर्वाचन आयुक्त पौडेलले बताए ।

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउने गरी व्यवस्था गरिने पनि स्पष्ट पारेको छ । निर्वाचन आयुक्त पौडेलले मतगणना स्थलमा उच्च सुरक्षा सर्तकता अपनाइने पनि बताए ।

निर्वाचन आयोगले ८ दिन भित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना पनि बनाएको छ ।

पर्सी बिहीबार दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत मंसीर १० गते सम्पन्न भइसकेको छ ।

त्यसअघि मंगलबार नै काठमाडौमा भएको एक साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले २१ गते ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आममतदाताहरुलाई आग्रह गरेका थिए ।

यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आममतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।’

उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेद्धवारलाई लक्षित गरेर घटाइएका घट्नाहरुप्रति खेद व्यक्त गर्दै भने,‘म यस्ता घट्नाहरुप्रति दुःख व्यक्त गर्दछु, आयोग घट्नाको भत्र्सना गर्छ ।’

Logo