किन फस्छन् प्रहरी अफिसरहरू, आर्थिक चलखेल कि खुट्टा तानातान ?

किन फस्छन् प्रहरी अफिसरहरू, आर्थिक चलखेल कि खुट्टा तानातान ?


काठमाडौं । नेपाल प्रहरीको मुख्य नारा हुन, ‘सत्य, सेवा, सुरक्षा’ । शान्ति सुरक्षाका पहरेदार मानिने प्रहरीले आफ्नो मिसनमा लेखेको छ, ‘कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा’

नेपाल प्रहरीको ‘स्लोगन’ र ‘मिसन’ जति आकर्षक र मिठासपूर्ण छ, प्रहरी संगठनभित्रको गतिविधी त्यति स्वादिलो भने छैन । एकपछि अर्काे होनहार अफिसरहरू विभिन्न काण्डमा फस्नु र केही अफिसरहरू निदोष सावित हुनुले प्रहरी संगठनभित्रको यथार्थ घाम जत्तिकै छर्लंग हुन्छ ।

प्रहरी संगठनमा हावी भएको राजनीति र एकलौटी मनोवृत्ति नेतृत्वका कारण पहुँचवालाहरूले सहजै राजनीतिलाई हतियार बनाउँदै रातारात बढुवाको स्वाद चाख्ने गरेको दृस्तान्त कयौं छन् । तर, कतिपय यस्ता प्रहरी अधिकारीहरू पनि छन् जो देश र जनताका लागि अहोरात्र खटिँदा पनि पदोन्नती त के उल्टै व्यवसाययिक जीवन समाप्त भएका छन् ।

नेपाल प्रहरीको केन्द्रमा प्रहरी महानिरीक्षक (आइजिपी) को नेतृत्व हुन्छ भने प्रदेशमा प्रहरी नायव महानिरीक्षकको नेतृत्व हुन्छ, जिल्लामा प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकको नेतृत्व हुन्छ, इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको नेतृत्व हुन्छ भने चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्व हुन्छ ।

यी नेतृत्वको मातहतमा काम गर्ने प्रहरीहरु नेतृत्व अनुकल काम गरेनन् र उनीहरुलाई चित्त बुझेन भने जे पनि हुने तथ्य यसअघिका घटनाक्रमले पुष्टि भइसकेको छ ।

संगठनको नाम कमाउन र शाख जोगाउन अहोरात्र खटिएका प्रहरी अधिकारीहरु आफ्नै संगठनबाट कसरी चिप्ल्याइन्छ भन्ने उदाहरण हुन्, गगन चन्द ठाकुर, कुमुद ढुङ्गेल, दिपेन्द्र अधिकारी, द्वारिकाबहादुर श्रेष्ठ, राजेन्द्रबहादुर सिंह, हाङसिंह चेम्जोङ्ग किरण गौतम, राजकुमार सिलवाल, यादव खनाल, कल्याण तिम्सिना, श्रीबत्स अधिकारी, सञ्जय तिमिल्सिना, अमरेन्द्र सिंह, नवराज सिलवाल, मिलन बस्नेत, सुरेश काफ्ले, दीपक थापा, अंगुर जिसी, दिवेश लोहनी, बसन्तराज कुँवर, रत्न शमसेर लगायत।

यी त प्रतिनीधि पात्र मात्रै हुन् । राजनीति र नेतृत्ववर्गको व्यक्तिगत स्वार्थका कारण यी र यस्ता थुपै होनहार अफिसरहरूले आफ्नो व्यवसायिक जीवन समाप्त पारेका छन् । अनुसन्धानमा अब्बल हुँदाहुँदै पनि ती प्रहरी उच्च अधिकारीहरुको व्यवसायिक जीवन कसरी सकियो या धमिलियो त ?

ठूला काण्डमा मुछिएका अधिकारहरू

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्ड नेपालकै दर्दनाक हत्याकाण्ड मध्ये एक हो । वि.स. २०७५ साउन १० गते भएको यो हत्या काण्डमा खटिएका प्रहरीहरुलाई घटनाको अनुसन्धानमा लापरवाही गरेको र प्रमाण नष्ट गरेको आरोपमा निलम्वन गरिएको थियो।

यो हत्या काण्डमा खटिएका कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र अन्य दुई जना प्रहरी अधिकारीलाई सेवाबाटै बर्खास्त गरिएको थियो। अन्य ६ जना प्रहरीहरू निलम्बलनमा परेका थिए । निर्मला पन्त बलात्कार र हत्याको घटना अनुसन्धानमा खटिएका डीएसपी अंगुर जिसीलाई त्यही घटनाको अभियुक्त बनाएर व्यवसायिक जीवन समाप्तै बनाइयो। उनी एक प्रखर र अब्बल प्रहरी थिए।

उनीहरूले भोगेको सामाजिक तिरस्कार र अपमान तथा व्यवसायिक जीवनमा लागेको धक्काको क्षतिको पूर्ति हुन सक्ने छैन। अहिले उनीहरूले मुद्धाबाट त मुक्ति पाएका छन् तर सामाजिक तिरस्कार र व्यवसायिक क्षति भने कहिल्यै माथि नउठ्ने गरी खस्किएको छ।

त्यसैगरी, अर्काे चर्चित घटना ३३ किलो सुनकाण्डमा निलम्वित भएका प्रहरी अधिकारी हुन्, एसएसपी दिवेश लोहनी । लोहनी, अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । उनी पनि सांगठनिक प्रपञ्चकै शिकार बनेको बताइन्छ । लोहनी अपराध अनुसन्धानमा पोख्त मानिन्थे । यस काण्डमा दोषी प्रमाणित गर्दै एसएसपी लोहनीलाई जेल हालियो । उनलाई बयानका लागि बोलाएर पक्राउ गरिएको थियो । आफ्नो ब्याचबाट आईजीपीका लागि प्रमुख दाबेदारका रुपमा रहेका एसएसपी लोहनी सुनकाण्डमा फसेपछि उनको व्यवसायिक जीवन ध्वस्त भयो ।

त्यसैगरी, प्रहरीमा अन्यायपूर्ण निलम्बनमा परेका अर्का प्रहरी अधिकारी हुन्, कुमुद ढुंगेल । उनी अपराध अनुसन्धान गर्दा अण्डर कभर अपरेशन’का लागि निकै अब्बल मानिन्छन् । उनलाई अपराधीसँग मिलेमतो गरेको भन्दै ढुंगेलको व्यवसायिक जीवन धरापमा पारियोे । आफुलाई फसाउने र सिद्द्याउने योजना बनेको थाहा पाएपछि उनी १४ महिना भूमिगत भएका थिए ।

प्रहरी सेवाका अर्का योद्धा हुन्, प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी । उनले २०७५ असारमा राजीनामा गरिसकेका छन् । उनलाई पनि संगठनले नै सिद्ध्याएको उच्च पदस्थ अधिकारीहरू बताउँछन । उनी अपराध अनुसन्धानका लागि निकै अब्बल थिए । त्यस्ता होनहार प्रहरीलाई संगठनले सक्काएपछि संगठनमा राजनीतिक चरित्र र व्यवसायिक स्वार्थका कारण कुन रुपमा हाबी भएको छ भन्ने प्रस्ट बुझ्न सकिन्छ ।

आर्थिक चलखेल कि खुट्टा तानातान ?

प्रहरी संगठनभित्र यसरी व्यवसायिक राजनीति हावी भएको छ । जुन राजनीतिले संगठनलाई नै धरापमा पारेको मात्रै छैन, संगठनमा भएको यस्तो विकृतिले एकातिर प्रहरी अधिकारीहरुको व्यवसायिक जीवन सखाप भएको छ भने अर्कातिर पुरै प्रहरी संगठन नै कमजोर हुन पुगेको छ।

एक पूर्व प्रहरी उच्च अधिकारीका अनुसार प्रहरी संगठनमा सबैभन्दा ठूलो दुश्मन भनेकै आफ्ना सबै ‘ब्याचमेट’ हुन् । संगठनमा आफु अगाडि जान ‘ब्याचमेट’लाई कसरी पछार्न सकिन्छ भन्ने भन्ने मानसिकता हावी छ । त्यस्तो मानसिकताका कारण पछार्न अनेकन प्रपञ्च गर्ने गर्छन्। उनी भन्छन्, ‘प्रहरीमा यस विकृतिको नमुना नै भेटिन्छ ।’

एक पूर्व प्रहरी अधिकारीले भने, ‘प्रहरी निरिक्षिक दीपेन्द्र अधिकारी निकै राम्रो र संगठनको बलियो प्रहरी थिए । तर, उनलाई षडयन्त्रपूर्वक मेहेनत गरेर राजीनामा गर्न बाध्य बनाइयो । त्यस्ता काम गर्ने निष्ठावान प्रहरीहरुलाई निसाना बनाइ बनाइ व्यवसायिक जीवन धरापमा पारिन्छ । संगठनमा भएका यस्ता विकृतिले निष्ठावान र राष्ट्र सेवक प्रहरीको मनमा ठेस पुग्नुका साथै उनीहरूको व्यवसायिक जीवन समाप्त हुन्छ ।’

अर्का पूर्व प्रहरी अधिकारीले पनि प्रहरीका उच्च अधिकारीहरुलाई निसाना बनाइ बनाई व्यवसायिक जीवन संकटमा पारेको प्रति दुःख व्यक्त गरे । प्रहरी संगठनबाट कारवाही गरिएका यी विभिन्न प्रहरीहरू विषयगत ज्ञान भएका राम्रा प्रहरी अधिकारीहरु हुन् । उनले भने, ‘मैले जानेसम्म ती राम्रा र अब्बल प्रहरी हुन् ।’

त्यस्तै, नेपाल प्रहरीका पुर्व डिआइजी हेमन्त मल्लले नेपाल प्रहरीको प्रवेश योजनाको विषयमा कुनै विभागले चासो नदेखाएकाले पनि समस्या देखापरेको बताए । यस भन्दा अगाडि नेपाल प्रहरीको करियर योजना बनाउने टिमले पनि कुनै पनि निचोड दिन नसकेकाले यस्तो भइरहेको उनको भनाइ छ । उनका अनुसार अहिले त्यसैले गर्दा नेपाल प्रहरीमा मात्रै नभएर निजामती लगायतका जति पनि सङगठनमा सरुवा, बढुवा हुन्छ त्यहाँ राजनीतिकरण र आर्थिक चलखेल हुने सम्भावना रहन्छ।

अनुसन्धानको चरण नबुझेर, उनीहरुले गरेको काम कारबाहीका विषयमा जानकार नभएरलगायतका कारण अनुसन्धानमा खटिएका अधिकृतहरु नै पिडित हुने गरेका छन । मल्ल भन्छन, ‘यस्ता प्रहरीहरुलाई मातहतका विभागहरुले साथ दिनु पर्ने हो, तर कुनै पनि सहयोग भएको देखिंदैन, सरकारले पनि यस्ता प्रहरीलाई साथ दिनु पर्ने हुन्छ तर यहाँ त्यस्तो भएको छैन् ।’ उनले भने, ‘विभाग तथा सरकारले घटना, अनुसन्धानको विषयमा जानकार नभएका व्यक्तिहरुलाई छानविनको लागि पठाएकाले तथा अनुसन्धानको क्रममा त्यतिवेलाका तत्कालीन विभागीय प्रमुखहरुले उनीहरुले गरेको कामलाई स्पष्ट नपारिदिएका कारण र प्रमुखहरुबाट नै साथ नपाएका कारण उनीहरु पिडित बनेका हुन् ।’

संगठनले आफनै परिवारका सदस्यमाथि अन्याय गर्नुलाई समाजशास्त्रीय दृष्टिकोणबाट कसरी विश्लेषण गर्न सकिन्छ त ? सामाजशास्त्री मिना उप्रेतीले समाजमा एक व्यक्तिले अर्काे व्यक्तिसँग तुलना गरेर आफु शक्तिशाली बन्ने होडवाजी देखिएको बताइन् ।

उनका अनुसार पछिल्लो समय हिजोको स्वार्थ रहित समाज थियो । यसले मानिस आफु कसरी राम्रो बन्ने, कसरी राम्रो काम गर्ने, कसरी अरुभन्दा फरक देखिने, कसरी सदाचारी बनेर हिड्ने भन्ने  सोच थियो तर अहिले रूलाई गाली गरेर, दोष देखाएर, आफु राम्रो बन्न खाज्ने प्रवृती बढ्दै गएकाले अहिले यस्ता घट्ना हुन थालेका छन् ।

पछिल्लो समय यो प्रवृती व्यक्ति, परिवारीक सदस्य, विभिन्न सङगठन, पार्टी र अन्तर्राष्ट्रियस्तरमा समेत हुने गरेको उनको भनाई छ ।
प्रहरी संगठनमा भइरहेको पछिल्लो खुट्टा तानातान प्रवृति पनि यसै मानसिकताको उपज भएको उनको भनाइ छ ।

यस्तो मानसिकताले मानिसमा शक्ति संघर्ष, अंहकार, अहिंसाका कुराहरु उत्पन्न हुने उप्रेतीले बताइन् । नेपाली समाजमा एकता भन्दा अनेकता र एकाग्रह भन्दा विग्रह देखिनुको एउटा खास कारण पनि यही सोचको उपज भएको उनको भनाइ छ ।

Skip This
Logo