अपहरणमा परेको भन्दै छोराले नै आमासँग १५ लाख फिरौती मागेपछि…

जनकपुरधाम । अपहरणमा परेको नाटक गरेर आफ्नै आमासँग फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय युवकसहित उनका २ जना साथी रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका अजयकुमार साह, उनका साथी वडा नम्बर–२३ का समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका–८ का अरविन्द यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

अजयले आफ्ना साथीबाट अपहरणमा परेको नाटक गर्दै आमासँगै फिरौती माग्न अह्राएका थिए । अजयका साथी अरविन्दले उनलाई अपहरण गरेको भन्दै आमा रेखा कुमारीलाई फोन गरेर फिरौती मागेका थिए । एक सातअघि छोरो अपहरणमा परेको भन्दै रेखाले प्रहरीमा उजुरी दिएकी थिईन् ।

प्रहरीले उनको खोजी गरिरहँदा पनि यसबीचमा अरविन्दले रेखालाई बारम्बार फोन गरेर १५ लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिएका थिए । अन्त्यमा ५ लाख फिरौती दिने फोनबाटै सहमति भएपछि रेखासँग फिरौती लिन समसाद नदाफ जनकपुर आएका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको बयानको आधारमा अपहरणमा संलग्न समसादका साथी अरविन्दलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए । अजयलाई भने जनकपुरस्थित जनकचोकबाट पक्राउ गरिएको हो ।

तीनजनालाई एकै ठाउँमा राखेर प्रहरीले सोधपुछ गर्दा रेखाका छोरा अजय नै अपहरणको नाटक रच्ने योजनाकार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल किनेर भारतको गोवा घुम्न जाने र भव्य पार्टी गर्ने उनीहरुले योजनाका साथ अपहरणको नाटक गरेका हुन् । अपहरणको नाटक गरेर दुःख दिएको आरोपमा उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाएको छ।