मोहनविक्रम सिंहले पत्नीलाई मतदान नगर्ने

मोहनविक्रम सिंहले पत्नीलाई मतदान नगर्ने


– पूर्णप्रसाद मिश्र

जुम्री, प्यूठान, १४ मंसिर । नेकपा (मसाल)का अर्धभूमिगत महामन्त्री मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई मत नदिने भएका छन् ।

सिंहपत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार रहेकी छिन् । राजमो मसालको खुला सङ्गठन हो । उनीसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रा. डा. गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेता सिंह चुनाव प्रचारप्रसारका लागि भने अहिले प्युठानमै रहेका छन् । नेता सिंहले आफूले विसं २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि आफैँलाई मतदान नगरेको बताए । सिंह पहिलो पटक विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नं ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदमा उम्मेदवार भएका थिए । त्यसपछिको संसदीय र स्थानीय निर्वाचनमा पनि मतदान नगरेको नेता सिंहले बताए ।

त्यसबेला सिंहले १ हजार २ सय मत अन्तरले हारहेका थिए । उनलाई पराजित गरी काँग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बन्ने अवसर पाएका थिए । ‘सार्वजनिक कार्यक्रम र टेलिभिजन जस्ता दृश्य सञ्चारमाध्यममा प्रस्तुत नहुने भएकाले म अहिले पनि अर्धभूमिगत छु, पार्टी कार्यकर्ता र पत्रकारसँग चाहिँ कुरा हुन्छ’, उनले भने ।

धेरै कम्युनिष्ट नेताका गुरु सिंह देशको आवश्यकता पूर्ति गर्न अझै आफू अर्धभूमिगत रहेको बताउछन् । धेरै प्यूठानीलाई राजनीतिक प्रशिक्षण दिएका सिंहलाई यहाँका सामान्य मानिसले पनि गुरु भनी सम्बोधन गर्छन् । ‘अर्धसामन्ती एवं अर्धऔपनिवेशिक अवस्था रहेसम्म म अर्धभूमिगत रहन्छु, साम्यवादी जनसत्ता स्थापनाका लागि लामो संघर्ष गर्नुपर्छ, यसका लागि म लामो समयदेखि लागेको छु’, सिंहले भने ।

केही वामपन्थी दल मिलेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन बनाए पनि वाम दलबीच चुनावलगत्तै एकताको सम्भावना नरहेको उनको भनाइ छ । सबै कम्युनिष्टबीच एकता भएर एउटै दल हुनुपर्ने आवश्यकता रहे पनि धेरै छलफल आवश्यक रहेको नेता सिंहले बताए ।

‘संघीयताका बारेमा हाम्रो नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग मतभेद छ, छलफलद्वारा मतभेदलाई अन्त्य नगरेसम्म अहिले नै वाम दलबीच एकता हुन सक्दैन, सैद्धान्तिक रुपमा गहन बहसको जरुरी छ’, उनले भने । काँग्रेसको पुरानो नेतृत्वले लोकतान्त्रिक शासन व्यवस्थाका लागि लडे पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट यसको रक्षा हुन नसक्ने आरोप नेता सिंहले लगाए । लोकतन्त्रकै रक्षामा पनि वाम दलबीच गठबन्धन गरेर चुनावमा जानुपरेको उनले बताए ।
आफ्नो दल जनवादी शासन व्यवस्थाको पक्षमा रहे पनि संसदीय शासन व्यवस्थालाई तत्कालीन रणनीतिका रुपमा उपयोग गरेको उनले बताए । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई गरी तीन पदका लागि प्यूठानमा यही मंसिर २१ गते मतदान हुँदैछ ।

Logo