देउवा र ओली समवेदना प्रकट गर्न प्रचण्ड निवासमा

देउवा र ओली समवेदना प्रकट गर्न प्रचण्ड निवासमा


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ मंसिर ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पुत्रशोकमा परेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न लाजिम्पाट पुगेका छन् । प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण आइतबार बिहान निधन भएको थियो ।

देउवा र ओली सोमबार बिहान प्रकाशलाई श्रद्धाञ्जली दिन र प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्न लाजिम्पाट पुगेका हुन् ।

भेटका क्रममा देउवा र ओलीले छोरा प्रकाशको निधनको दुःखद घटनाले आफूहरु मर्माहत भएको भन्दै प्रचण्डका साथै परिवारका सदस्यलाई गहिरो समवेदना प्रकट गरेका थिए ।

प्रकाशको आइतबार नै अन्तिम संस्कार गरिसकिएको छ ।

यसैबीच प्रकाशको निधनमा चीन, भारत, राष्ट्र संघ लगायतका विभिन्न देश, कुटनीतिक नियोगका प्रतिनिधिहरुले समवेदना प्रकट गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पार्टी अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहाललाई लाजिम्पाटमा भेटी समवेदना प्रकट गर्दै धैर्य धारण गर्न आग्रह गरेकी थिइन् ।

Logo