ज्ञानमणि नेपाल कालोटोपी

मंशिर,२ काठमाडौं
चुनावको मिती नजिकिएसँगै उमेदवार माथी आक्रमणका घटना दिन दिनै वढ्न थालेका छन् । "/>

उमेदवार लक्षित आक्रमणले उब्जाएको त्रास

उमेदवार लक्षित आक्रमणले उब्जाएको त्रास


ज्ञानमणि नेपाल कालोटोपी

मंशिर,२ काठमाडौं
चुनावको मिती नजिकिएसँगै उमेदवार माथी आक्रमणका घटना दिन दिनै वढ्न थालेका छन् । आज पनि ओखलढुंगामा वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बिहानै बम विस्फोट गरिएको छ । यसले उमेदवार तथा मतदातालाई त्रसित बनाएको मात्र छैन समग्र देशको सुरक्षा अवस्था प्रति नै प्रश्न उठाएको छ । कात्तिक २४ गते रुकुममा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनार्दन शर्मा माथि आक्रमण भयो । त्यस अघि नै उनको घरमा कालोझण्डा राखिएको थियो । माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र रुकुममा पूर्वलडाकु माथि भएको आक्रमणलाई विगतमा माओवादी छोडेका सहयोद्धासँग जोडियो । माओवादीबाट अलग भएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आक्रमण गरेको धेरैको अनुमान थियो । तर घटनापछि न नेकपाले आक्रमणको जिम्मा लियो न त राज्य संयन्त्रले नै घटनाका दोषी पहिचान गर्न सक्यो ।

घटना लगत्तै निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गरायो । सुरक्षा प्रमुख र गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षा गर्न सरकार सक्षम र प्रतिबद्ध रहेको बताए । तर पनि आक्रमणको श्रृखंला रोकिएन । एकहप्ता भित्र नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका गरी १५ जना भन्दा बढी उम्मेदवार माथि आक्रमण भइसकेको छ । रुकुमबाट सुरु भएको आक्रमणको श्रृङ्खला भोजपुर देखि राजधानीसँगै जोडिएको नुवाकोट सम्म पुगिसक्यो । यसले अहिले सम्म मानवीय क्षतिको रुप भने लिएको छैन तर अवस्था हेर्दा कतिखेर ठुलो दुर्घटना निम्त्याउने हो यसै भन्न सकिने अवस्था छैन । शुक्रबार नुवाकोटको ककनीमा काँग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी लक्षित गरी बम विस्फोट गराइयो । घटनामा उम्मेदवार महत सुरक्षित रहे पनि अन्य पाँच जना कार्यकर्ता घाइते भए । शुक्रबार नै निवर्तमान सभामुख ओनसरी घर्ती तथा माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन माथि पनि रोल्पामा आक्रमण भयो । स्थानीय चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवस्थामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने सुरक्षा संयन्त्रको विश्वास थियो । निर्वाचन आयोगसँगको परामर्शमा गृह मन्त्रालयले सुरक्षा रणनीति लागू गरिसकेको थियो । तर चुनाव प्रचारप्रसारको गति बढ्दै गर्दा कात्तिक २४ देखि उम्मेदवार माथि आक्रमणको सिलसिला सुरु भयो । वाम गठबन्धनका नेता लक्षित आक्रमण भइरहेका बेला कात्तिक ३० मा रोल्पामा काँग्रेस उम्मेदवार तथा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन माथि पनि आक्रमण भयो । पुनलाई लक्षित गरी बम विस्फोट गराइए पनि उनी भने सुरक्षित रहे । त्यसैदिन माओवादी केन्द्रका गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठको गाडी लक्षित गरी आक्रमण भयो । आक्रमणका क्रममा उम्मेदवार श्रेष्ठ भने गाडीमा थिएनन् । सोहि दिन बागलुङको गलकोटमा वाम गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम स्थल नजिकै बम विस्फोट भयो । भोजपुरमा एमालेका नेता शेरधन राई माथीको आक्रमण पनि सेलाएको छैन । शुक्रबार अघिका आक्रमण उम्मेदवार लक्षित भए पनि क्षतिका दृष्टिले काँग्रेस उम्मेदवार महत माथि नुवाकोटमा भएको आक्रमणको प्रकृति फरक देखिएको छ । महतको गाडी पूर्ण रूपमा क्षति भएको छ ।

यसरी उमेदवार लक्षित आक्रमण नरोकिएपछि अहिले सर्वत्र त्रास फैलिएको छ । घटनाको सबैपक्षबाट निन्दा गरिएको छ । यसैविच नेपाल प्रहरीले भने उम्मेदवार र मतदाता माथि सुरक्षा प्रत्याभूति गर्न प्रहरी लागि परेको बताएको छ । कतिपय स्थानमा सुरक्षा संयन्त्रको उपस्थिति कमजोर भएको र निकै टाढाबाट आक्रमणका घटना भएको प्रहरीको भनाई छ । यता निर्वाचन आयोगले उम्मेदवार माथि भइरहेको आक्रमणले आफू स्तब्ध भएको बताएको छ । उम्मेदवार र मतदाताको सुरक्षा प्रत्याभूत गर्न आयोगले सरकारको पुनः ध्यानाकर्षण समेत गराएको छ । आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन विरोधी हिंसात्मक घटना नगर्न नगराउन सम्बद्ध पक्षलाई निर्देशन समेत दिएको छ । हाल सम्म शंकास्पद केहि व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरे पनि खास आक्रमणकारी को हुन् र किन यसरी आक्रमण गरिरहेका छन् भन्ने अहिले सम्म प्रष्ट छैन । सरकारले अब सुरक्षा निकायलाई थप सक्रियता नबनाउने हो भने आगामी दिनमा अझ अप्रिय घटनाहरु हुन सक्ने सम्भावना देखिएको छ ।

[email protected]

Logo