रुष्ट महाकालीवासी भन्छन् – आँखा चिम्लेर भोट हाल्दैनौं

रुष्ट महाकालीवासी भन्छन् – आँखा चिम्लेर भोट हाल्दैनौं


राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ३० कात्तिक ।

कञ्चनपुरको महाकाली नगरपालिका वार्ड नं ४ का चन्द्रदेव भट्टले दुई दशकअघिदेखि निर्वाचनमा मतदान गर्दैआएका छन् । असी वर्ष टेकेका भट्ट मंसिर २१ गते मतदान गर्न पनि उत्सुक छन् । नेताहरुले चुनावी वाचा पूरा नगर्दा भने उनी असन्तुष्ट छन् ।

“नेताहरुले अहिलेसम्म के गरे भनुँ, भोट माग्ने बेला खुट्टा ढोग्यो, नमस्कार गर्यो, त्यसपछि जितेर गएपछि कहिल्यै फर्केर आएनन्,” उनले भने, “मर्दको जबान हुन्छ भन्छन् तर आश्वासन दिएर फर्के पनि काम पटक्कै गरेनन् ।”

“यसलाई उसलाई भोट हाल्ने त भन्दिनँ, जसले पानीको समस्या हल गर्छ, बाटो बनाउँछ, सिँचाइ दिन्छ, त्यसैलाई भोट दिन्छौं,” उनले भने ।

झोलुङ्गे पुलसित जोडिएको वार्ड नं ४ का भट्टजस्तै आश्वासन पूरा नगरेका कारण दोधारा चाँदनीका बासिन्दा पनि उम्मेदवारसँग असन्तुष्ट छन् ।

महाकाली नगरपालिका वार्ड नं ९ ढकनाघाटका पार्वती रावलले भने, “कतिसम्म एउटैलाई मत दिने रु खाली आश्वासन मात्रै पाएर के गर्ने रु अब त सुविस्ता गर्नेलाई भोट दिन्छौ ।”

नेताहरुले चुनावी प्रचारका क्रममा दोधारा चाँदनीमा ‘विकास गरेँ’ भनेर भाषण गरेको सुनेर आश्चर्यमा परेका रावल भन्छन्, “यो गर्यो, त्यो गर्यो भनेर भाषण गर्दैछन्, खै के गरेको छ त हाम्रोमा रु बिजुलीका पोल पनि छैन ।”

वार्ड नं। ९ को अम्बिका स्कुल बजार नजिक भएर ढकनाघाट जाने बाटोलाई कसैले नहेरेको उनले बताए । “यो बाटो जस्तो थियो, त्यस्तै छ, कसैले अहिलेसम्म केही गरेन,” उनले भने ।

बाइस हजार मतादाता भएका महाकाली नगरपालिकामा अढाई सय मिटरका ७ वटा मात्रै पक्की सडक छन् । ती सडक पनि नगरपालिका बनेपछि मात्रै निर्माण गरिएका हुन् ।

स्थानीय बासिन्दाका अनुसार उम्मेदवारहरुले विगत देखिनै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने, विद्युत्को क्षमता विस्तार गर्ने, कुतियाकवरसम्मको सडक पक्की गर्ने, घरघरमा शुद्ध खानेपानी पुर्याउने, इलाका प्रशासन कार्यालय स्थापना गर्ने, सुकुम्बासी समस्या हल गर्ने र महाकाली नदीमा तटबन्धन गर्ने विषयलाई चुनावी एजेण्डा बनाउँदै आएका छन् । यी चुनावी एजेण्डा पूरा नभएपछि स्थानीय बासिन्दा उम्मेदवारसँग रुष्ट भएका हुन् ।

महाकाली नगरपालिका–९ की पूर्णकला रावत भन्छिन्, “कसैले केही गरेको छैन । इन्डियाको गाँस, नेपालको बास छ । अब जसले हामीलाई हेर्छ उसैलाई हेर्छौं । पहिला जसरी आँखा चिम्लेर मत हाल्दैनौं ।”

दोधारा चाँदनीका मतदाता फकाउन वाम गठबन्धन र काँग्रेसका उम्मेदवार लागिपरेका छन् । कञ्चनपुर क्षेत्र नं ३ मा वाम गठबन्धनबाट नेकपा एमालेका डा। दीपक प्रकाश भट्ट र नेपाली काँग्रेसका पूर्व साँसद रमेश लेखक चुनावी प्रतिस्पर्धामा छन् ।

दोधारा चाँदनीसहितको प्रदेश ९ख० मा गठबन्धनबाट मान बहादुर सुनार र काँग्रेसका बेल बहादुर राना चुनावी मैदानमा छन् । दुबै उम्मेदवार दिन बिराएर मतदाताका घरमा पुग्न थालेका छन् ।

स्थानीय शिक्षक अमर बस्नेत यस पटकको चुनावमा विगतको जस्तो नतिजा नआउने बताउँछन् । “विगतको जस्तो राजनीतिक अवस्था छैन, नयाँ पुस्ताले केही परिवर्तन खोजिरहेका छन्,” उनले भने ।

दोधारा चाँदनीबाट प्रदेशसभाका उम्मेदवार पनि भएकाले यस अघिको नतिजा दोहोरिने सम्भावना नदेखिएको बस्नेतले बताए । स्थानीय तह निर्वाचनमा काँग्रेसले मेयर र एमालेले उपमेयर जितेको छ । दश वडामध्ये काँग्रेसले ५, एमाले ४ र माओवादी केन्द्रले एउटा वडा जितेको छ ।

एमाले र माओवादी केन्द्र मिलेपछि काँग्रेस गठबन्धन वडामा बराबरी भएका छन् । काँग्रेसले चाँदनी र एमालेले दोधाराका वडा जितेको हो । गठबन्धन र काँग्रेस दुबैले अहिले मतदाता तान्न वडास्तरमा भेला, भेटघाट, प्रचारका कार्यक्रम गर्दैआएका छन् । रासस

Logo