चित्लाङ–थानकोट सडक आजदेखि बन्द

चित्लाङ–थानकोट सडक आजदेखि बन्द


मकवानपुर ।

मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको गणेशमान सिंहमार्ग अन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ ।

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । गणेशमान सिंह मार्ग अन्तर्गत चन्द्रागिरि–थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने, रेडियस मिलाउने, कटिङ गर्ने जस्ता कार्य भइरहेको र सो क्रममा सेतो पहरा भन्ने ठाउँमा कटिङको कार्य भइरहेकाले सवारी आवागमन बन्द गर्नु परेको सरोकार समितिका सदस्य रामशरण नेपालले बताए।

यसअघि सडक स्तरोन्नतिको काम भइरहँदा पनि सो सडकबाट सवारी आवागमन रोकिएको थिएन । सेतो पहरामा कटिङको कार्य हुँदा सवारी आवागमन रोक्नै पर्ने भएकोले राकिएको सरोकार समितिले स्पष्ट पारेको छ ।

पछिल्लोपटक स्थानीयवासीले स्वःस्फूर्तरुपमा सरोकार समिति बनाएर समितिकै निगरानीमा चन्द्रागिरि–थानकोट सडक खण्डमा स्तरोन्नति भइरहेको छ । विसं २०७१ मा सडक स्तरोन्नति सम्बन्धी निर्माण कम्पनीसँग सम्झौता भएर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि स्थानीयवासीले ठेकेदारमार्फत काम गराइरहेका छन् ।रासस

Logo