एसिसी यू-१९ एसिया कप क्रिकेट : नेपालले मलेसियालाई ८ विकेटले हरायो

एसिसी यू-१९ एसिया कप क्रिकेट : नेपालले मलेसियालाई ८ विकेटले हरायो


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ कात्तिक ।

मलेसियाको बायुमास ओभल मैदानमा भइरहेको एसिसी यू–१९ युथ एसिया कपअन्तर्गत समूहको अन्तिम खेलमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले पराजित गरेको छ।

वर्षाले प्रभावित बनेपछि डकवर्थ लेविस नियम अनुसार २४ ओभरमा घटाइएको खेलमा मलेसिया पूरै ओभर समेत खेल्न सकेन र नेपालको बलिया बलिङ आक्रमणसामु केवल १५.३ ओभरमा ४५ रनमै अलआउट हुन पुग्यो।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२ विकेट लिए।

मलेसियाका लागि यइद अजिज मुबारकले सबैभन्दा बढी २० रन बनाए भने कप्तान भिरनदिप सिंहले १० रनको योगदान गरे । मलेसियाका अन्य कुनै खेलाडीले दोहोरो अंक नै
पनि छुन सकेनन्।

जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि मोहम्मद आसिफ सेखले ४ रन र दीपेन्द्र सिंह ऐरीले १२ रन बनाए पनि अनिल कुमार साहले सानदार प्रदर्शन गर्दै तीन वटा छक्का प्रहार गर्दै नटआउट २६ रन बनाए । नेपालले ५।३ ओभरमा दुई विकेटको क्षतिमा ५१ रन बनायो। चौथो नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्की ३ रनमा नटआउट रहे ।

बलिङतर्फ मलेसियाका विजय उन्नीले २ विकेट लिए ।

नेपालले आजको खेल जितेपछि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ। तर भारत र बंगलादेशबीचको खेलको नतिजा पनि कुर्नुपर्नेछ। बंगलादेशले भारतलाई पराजित गरेमा नेपाल र बंगलादेश सेमिफाइनल पुग्नेछन्।

यसअघि समूहको दोस्रो खेलमा भारतलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको नेपाल समूहको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

Logo