चार महिनापछि रानीपोखरी निर्माणको काम सुरु

चार महिनापछि रानीपोखरी निर्माणको काम सुरु


काठमाडौं, २३ कात्तिक ।

चार महिनादेखि रोकिएको रानीपोखरी निर्माणको काम पुनः सुरु भएको छ ।

लामो समयदेखि काम हुन नसकेपछि गत मंगलबार कामपाका कार्यकारी अधिकृत धनीराम शर्माले निर्माण कम्पनीलाई ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण छिटो गर्न निर्देशन दिएका थिए । सम्झैतानुसार गत असार मसान्तसम्ममै पहिलो चरणको काम सक्नुपर्ने थियो । निर्धारित समय सकिसक्दा पनि पुनःनिर्माणको कामले गति लिन नसकेकाले कामपाले निर्देशन दिएको हो ।

निर्माणका लागि जिम्मा पाएको वल्र्ड वाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेल कामपाकै कारण निर्माण ढिला भएको बताए । निर्माण कम्पनीले कामपाले डिजाइन नदिएको भन्दै काम रोकेको बताउँदै आएको छ । अबको तीन महिनामा आफ्नो जिम्मामा रहेको सबै काम सक्ने कँडेलले प्रतिबद्धता व्यक्त गरे ।

रानीपोखरी पुनःनिर्माणको जिम्मा कामपालाई दिइए पनि बालगोपालेश्वर मन्दिर पुनःनिर्माण नियमविपरीत रहेको भन्दै पुरातत्व विभागले २०७३ भदौमै रोक लगाउँदै आफैँले निर्माण गर्ने जनाए पनि हालसम्म मन्दिरको पुनःनिर्माणको काम हुन सकेको छैन ।

उक्त मन्दिर वर्षमा एक दिन भाइटीकाको दिन मात्र खुल्छ । मन्दिरमा टीका लगाउन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् ।

चार सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर बनाइएको ‘विष्णुतीर्थ’ को दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति तथा अन्य कुनामा गणेशलगायतका मूर्ति छन् । रासस

Logo