काठमाडौँ ,२३, कात्तिक
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण भूकम्पमा ध्वस्त निजी आवास पुनर्निर्माण कार्यक्रम प्रभावित बनेको छ । "/>

भूकम्पको अढाई वर्षमा ८ प्रतिशत मात्र निजीघर पुनर्निर्माण

भूकम्पको अढाई वर्षमा ८ प्रतिशत मात्र निजीघर पुनर्निर्माण


काठमाडौँ ,२३, कात्तिक
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण भूकम्पमा ध्वस्त निजी आवास पुनर्निर्माण कार्यक्रम प्रभावित बनेको छ । पुनर्निर्माणमा खटिनुपर्ने जनशक्ति निर्वाचन प्रचारमा लागेपछि काम प्रभावित भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ लाख १ हजार २३ भूकम्पपीडितले निजी आवास बनाउन बाँकी छ । त्यस मध्ये एक लाख दुई हजार दुई सय ९३ भूकम्पपीडितले निजी आवास पुनर्निर्माण सुरु गरिसकेका छन् । बाँकी ५ लाख ९८ हजार ७ सय ३० भूकम्पपीडितले निजी आवास निर्माण अझै सुरु गरेका छैनन् । प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले आवास निर्माणमा जुट्नुपर्ने जनशक्ति चुनावी प्रचारमा लागेपछि निजी आवास पुनर्र्निर्माण प्रभावित बनेको बताए । उनले भने, ‘प्राधिकरणले गर्ने काममा चुनावले खासै प्रभाव परेको छैन । तर गाउँमा बन्दै गरेका घरमा भने अवश्य प्रभाव पारेको छ । घर बनाउने जनशक्ति चुनाव प्रचारमा लागेका छन् । मजदुर नै नभएपछि घर बनाउने कुरा भएन । त्यसकारण ग्रामीण भेगमा केही प्रभाव पर्नु स्वाभाविक पनि हो ।’

प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै निजी आवास गोरखामा बन्दै छन् । गोरखामा अनुदान सम्झौता भएका ५४ हजार पाँच सय २१ पीडित मध्ये १९ हजार ५ सय ९४ ले आवास बनाउन सुरु गरेका छन् । ८ हजार ६ सय ४७ ले भने बनाइसकेका छन् । नुवाकोटमा पनि १९ हजार ५१ पीडितले निजी आवास बनाउन सुरु गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार भूकम्प गएको साँढे दुई वर्ष बितिसक्दा जम्मा ८ प्रतिशत पीडितको मात्रै निजी आवास बनेको छ । प्राधिकरणले भूकम्प प्रभावित जिल्लाभर ७ लाख ६७ हजार ७ सय पाँच भूकम्पपीडितलाई लाभग्राहीको सूचीमा राखेको छ । त्यस मध्ये अहिले सम्म ६६ हजार ६ सय ८२ पीडितले मात्रै निजी आवास बनाएका छन् । यो कुल संख्याको ८.६८ प्रतिशत मात्रै हो ।
नयाँपत्रिकाबाट

Logo