गभर्नर नेपालद्वारा कोरियास्थित जीएमई शाखाको अवलोकन

गभर्नर नेपालद्वारा कोरियास्थित जीएमई शाखाको अवलोकन


केन्द्रबिन्दु संवाददाता । सियोल (दक्षिण कोरिया), २२ कात्तिक ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुनस्थित शाखाको अवलोकन गरेका छन् । जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन सुंगले सो अवसरमा गर्भनर नेपाललाई स्वागत गरेका थिए ।

भ्रमणको क्रममा गर्भनर नेपालले नेपाल पैसा पठाउने प्रक्रियाका बारेमा समेत जानकारी लिएका थिए । अवलोकनका क्रममा सेवाग्राहीसंग अन्तरक्रिया गर्दै गर्भनर नेपालले वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुको रेमिटान्स औपचारिक माध्यमबाट नेपाल पठाउन जीएमईले गरेको प्रयासको उच्च प्रशंसा गरे । उनले कोरियामा रहेका हरेक नेपालीलाई औपचारिक माध्यमबाट नै रेमिटेन्स पठाउन पनि अनुरोध गरेका छन् ।

यसै सन्दर्भमा कोरियास्थित नेपाली दूतावासमा आयोजित एक अन्तरक्रियामा गर्भनर नेपालले कोरियाबाट अवैधानिक च्यानलमार्फत नेपाल जाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्य प्राथमिकता रहेको बताए । नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै त्यसको कदरका लागि वैधानिक माध्यमबाट रेमिटेन्स पठाएर सहयोग गर्न आग्रह गरे ।

वैदेशिक रोजगारीको शिलशिलामा कोरियालगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानका लागि रोक लगाउन सक्नेसम्मको जानकारी गराएका छन् ।

अन्तरक्रियामा कोरियाका लागि नेपालका राजदूत अर्जुनजंग बहादुर सिंहले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहित गर्न दूतावास र नेपाल राष्ट्र बैंकले कडा कदम चाल्न त्यही अनुरुपको नियम ल्याउँदै गरेको जानकारी दिए ।

जीएमईको सेवा जीएमईका सबै शाखासहित अनलाइनबाट समेत लिन सक्ने व्यवस्था मिलाइएको छ । यसरी पठाएको रकम नेपालस्थित ग्लोबल आइएमई बैंकका सबै शाखालगायत सात हजारभन्दा बढी एजेन्ट आउटलेटबाट छिटो, छरितो र सुरक्षित ढंगले भुक्तानी लिन सकिनुका साथै जुनसुकै बैंकको खातामा पनि जम्मा गर्न सकिन्छ ।
जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलोपटक रेमिटान्स सेवा प्रदान गर्ने इजाजत प्रदान गरेको थियो । सोही इजाजत अनुरुप जीएमईले आफ्नो सेवा सुरु गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यममार्फत रेमिटान्स भित्र्याउन सहज हुने विश्वास गरिएको छ ।

 

Logo