काठमाडौँमा उत्साहका साथ उम्मेदवारी दर्ता

काठमाडौँमा उत्साहका साथ उम्मेदवारी दर्ता


काठमाडौँ, १६ कात्तिक ।  दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी दर्ता गरेका छन् ।

राजधानीको अनामनगरस्थित निर्वाचन क्षेत्र नं ५ को कार्यालयमा आज प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराउनुभयो । यस क्षेत्रका दुवै प्रदेश सभा सदस्यका लागि करिब १८ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

छुट्टाछुट्टै समयमा आउनुभएका दुवै दलका नेता कार्यकर्ताको जुलुशले सो क्षेत्रमा केहीबेर सवारी आवागमनसमेत अवरुद्ध हुन पुगेको थियो । निर्वाचन क्षेत्र नं ५ को प्रतिनिधि सभा सदस्यका लागि काँग्रेस र एमालेबाहेक विभिन्न दल र स्वतन्त्रगरी झण्डै २० जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत चणकमणि अर्यालले जानकारी दिए । 

सोही स्थानमा रहेको निर्वाचन क्षेत्र नं ८ को कार्यालयमा काँग्रेस नेता नवीन्द्रराज जोशी र एमाले नेता जीवनराम श्रेष्ठलगायत विभिन्न दल र स्वतन्त्रका गरी जम्मा ९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रामप्रसाद लम्सालले जानकारी दिए । 

राजाधानीको बबरमहलस्थित निर्वाचन क्षेत्र नं ७ को कार्यालयमा आज प्रतिनिधि सभा सदस्यका लागि विभिन्न दलका जम्मा १० जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कपिलमणि गौतमले जानकारी दिए ।  यस क्षेत्रको प्रदेश सभाका लागि पनि सोही हाराहारीमा उम्मेदवारी परेको छ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा र वाम गठबन्धनबाट एमालेका रामवीर मानन्धरले उम्मेदवारी दिएका छन् । 

त्यस्तै प्रदेशको निर्वाचन क्षेत्र नं १ र २ मा विभिन्न दल र स्वतन्त्र गरी सातरसात जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ताको तालिका तोकेको थियो । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि भने यही कात्तिक ५ गते मनोनयन दर्ता सम्पन्न भैसकेको छ ।

Logo