असन्तुष्ट कार्यकर्ताद्वारा एमाले कार्यालय तालाबन्दी

असन्तुष्ट कार्यकर्ताद्वारा एमाले कार्यालय तालाबन्दी


भक्तपुर, १५ कात्तिक ।

आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा (एमाले) भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी आएकाले त्यसको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको बताए ।

दंगालले भने, “हामी वाम गठबन्धन र एमाले नेतृत्वले गरेको निर्णयको विरोधी होइनौं तर भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेको राम्रो पकड हुँदाहुँदै पनि पार्टीको अस्तित्वमा आँच आउने गरी प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा माओवादी केन्द्रलाई छाड्ने निर्णय भयो भन्ने जानकारी आयो, यसलाई सच्याउन माग गर्दै तालाबन्दी गरेका हौँ ।”

तालाबन्दी गर्दै क्षेत्र नं १ का नेता कार्यकर्ताले आफ्नो मागको बेवास्ता गरी एमालेले तीनवटै क्षेत्र छाडेमा स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । यसबारेमा पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले तालाबन्दीले कुनै असर नपर्ने बताउँदै केही कार्यकर्ताले यसमा असन्तुष्टी मात्र पोखेको दाबी गरे ।

यसबारेमा पनि पार्टीमा छलफल भइरहेको उनले बताए । यसअघि वाम गठबन्धनले भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई छाड्ने र प्रदेशतर्फ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (ख) माओवादी केन्द्रलाई छाड्ने निर्णय गरेको भन्दै एमाले नेता कार्यकर्ताले विरोध गरेका थिए ।

तालाबन्दीका क्रममा नेता तथा कार्यकर्ताले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं (ख) मा एमालेले कुनै हालतमा नछाड्ने र अरू दललाई दिए स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । एमालेले भक्तपुर क्षेत्र नं १ मा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिश गरेको थियो भने प्रदेशसभातर्फ (क) मा हरिशरण लामिछाने र (ख) मा रोमन शिलाकारको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

Logo