धमाधम गाउँ पस्दै उम्मेदवारहरु

धमाधम गाउँ पस्दै उम्मेदवारहरु


बाबियाचौर, ११ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै म्याग्दीका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । 

नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचार टोली अन्नपूर्ण गाउँपालिकाको वडास्तरमा चुनावी आमसभा सकेर आज बेनी फर्किएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारको टोलीले प्रदेश सभा क्षेत्र नं २ मा पर्ने मंगला गाउँपालिका–३ बरंजाबाट शुक्रबारदेखि संयुक्त चुनाव प्रचार अभियान शुरु गरेको छ । राजनीतिक दलले प्रचारसभामा गीत तथा नृत्य प्रस्तुत गर्न कलाकारको टोलीसमेत बनाएका छन् । 

ग्रामीण क्षेत्रका कृषक धान, कोदो भित्र्याउने, गहुँ, जौ छर्ने काममा व्यस्त भएकाले दलहरुले चुनाव प्रचारका लागि तीन चरणको कार्यक्रम बनाएका छन् । वडास्तरमा कार्यकर्ता भेटघाट, चुनावीसभा र घरदैलो गरेर भोट माग्ने कार्यक्रम बनाइएको एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । “एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमतिको सन्देश कार्यकर्ता तहमा पु¥याउँदै मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यकर्तालाई घरदैलोमा परिचालन गरेका छौँ,” उनले भने । 

जिल्लास्तरमा एमाले र माओवादी केन्द्रको सात सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार कार्यदल गठन भएको र स्थानीय तह तथा वडास्तरमा सोही संरचना तयार पारेर संयुक्त प्रचार अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले बताए । कार्यकर्तालाई प्रशिक्षण, उम्मेदवारसहित आमसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको पौडेलले बताए । नयाँ संविधानले परिकल्पना गरेअनुसार पहिलो पटक हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि एमाले र माओवादी केन्द्र तथा काँग्रेस र राप्रपाले तालमेल गरेर उम्मेदवार उठाएका छन् । 

नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँले चुनावीसभाभन्दा पनी मतदाताको घरदैलोमै पुग्ने गरी चुनाव प्रचारको कार्यक्रम बनाइएको बताए । तरुण दल, महिला, नेविसंघका कार्यकर्तालाई घरदैलो अभियानमा परिचालन गरिएको उहाँले बताए । प्रतिनिधि सभामा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा र एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेश सभाका लागि क्षेत्र नं १ मा माओवादीका विनोद केसी, राप्रपाका भीमप्रसाद गौचन तथा प्रदेश सभा क्षेत्र नं २ मा एमालेकी नरदेवी पुन र काँग्रेसका अमलाल फगामीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन काँग्रेस–राप्रपा गठबन्धनभन्दा सात हजार मतले अगाडि छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा, ७२ मतदानस्थल र १०२ मतदान केन्द्र रहेको जिल्लामा ७५ हजार ५३८ मतदाता रहेका छन् । रासस

Logo