युवा संघ र वाइसिएलको संयुक्त निर्वाचन परिचालन समिति गठन

युवा संघ र वाइसिएलको संयुक्त निर्वाचन परिचालन समिति गठन


 

काठमाडौँ, १० कात्तिक । पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा संगठनले ३ हजार १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

दुवै पार्टी निकटका युवा संगठनको केन्द्रीय इञ्चार्जसहितको आजको बैठकले केन्द्र, प्रदेश र स्थानीय तहमा समेत संयुक्त रुपमा प्रचारप्रसार समिति गठन गर्ने र त्यसलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त बैठकले दुवै संगठनका पदाधिकारी रहेको सचिवालय र दैनिक कार्य सञ्चालनका लागि दुवै अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति गठन गरेको छ ।

बैठकले दुवै संगठनको प्रदेश इञ्चार्ज वा प्रमुखको नेतृत्वमा जिल्लामा जिल्ला अध्यक्ष वा संयोजकको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने र जिल्ला मातहत रहेका समितिसमेत सोहीअनुसार गरिने निर्णय गरेको छ । बैठकमा युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम शक्तिलाई विजयी गराउन युवाको भूमिका महत्वपूर्ण भएकाले सोहीअनुसार कार्य क्षेत्रमा प्रस्तुत हुन आग्रह गरे । उनले नेपालको इतिहासमा आगामी निर्वाचन नयाँ कार्यभारसहितको निर्वाचन भएकाले सम्पूर्ण ध्यान केन्द्रित गर्न आह्वान गरे ।

वाइसिएलका इञ्चार्ज मणि थापाले कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर इतिहासको आवश्यकता पूरा गर्दै वामपन्थी गठबन्धनलाई विजयी गराउनु आजको प्रमुख कार्यभार रहेको बताए । उनले नेपालका युवाको प्रमुख दुई संगठनले जनतालाई संगठित गर्दै निर्वाचनलाई शतप्रतिशत रुपमा सफल बनाउनुपर्नेमा जोड दिए ।

युवा संघका अध्यक्ष राजीव पहारीले निर्वाचनलाई केन्द्रमा राखेर दुवै संगठन परिचालित हुने बताए । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले युवाकै प्रयासमा मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन भएकाले त्यसलाई संस्थागत गर्ने महत्वपूर्ण अवसर आएको बताए ।

Logo