आफ्नै कपडा फुकालेर बिरोध गर्ने अचम्मका यी शैली

आफ्नै कपडा फुकालेर बिरोध गर्ने अचम्मका यी शैली


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ कात्तिक ।

डा. गोबिन्द केसी मेडिकल माफियाको बिरोधमा आफै भोको बसिरहन्छन् । अर्थात, आमरण अनसन । हामीकहाँ बिरोध जनाउनका लागि अराजक गतिविधि गरिन्छ । कतै तोडफोड गरिन्छ । बाटो बन्द गरिन्छ । जुलुस लगाइन्छ ।

तर, विश्वको परिदृश्य फरक छ । विश्वमा पनि यस्ता विरोध कार्यक्रम नहुने होइन, तर एकदमै फरक ढंगले ।

नग्न भएर योग मुद्रामा आन्दोलन

मे २०१० मा लन्डनमा संसदबाहिर एक नग्न महिलाले ट्राफिक जाम गराइन् । त्यसपछि कालो रंगको ट्याक्सीको छतमा उक्लिएर ध्यान मुद्रामा बसिन् । उनी अफगानिस्तान युद्धमा ब्रिटिश फौज पठाएको विरोध स्वरुप प्रदर्शनमा उत्रिएकी थिइन् ।

टपलेस हुनका लागि टपलेस प्रदर्शन

जब पुरुषहरुले शर्ट उतारेर आफ्नो शरीरको प्रदर्शन गर्न पाउँछन् भने महिलाले त्यसो गर्न किन नपाउने ? यही इस्यु उठाएर लस एन्जेलसमा महिलाहरुले प्रदर्शन गरेका थिए । उनीहरुले महिलाले पनि टपलेस प्रदर्शन गर्न पाउनुपर्छ भन्दै संस्थागत रुपमै अभियान चलाएका हुन् । ‘गो टपलेस’ नामक यो संस्थाले प्राय:जसो टपलेस समारोह आयोजना गर्छ, जसमा महिलाहरु बिन्दास छाती खोलेर कम्मरमाथि निर्वस्त्र भई पुरुष जस्तै प्रदर्शनमा उत्रन्छन् ।

साइकिललाई बाटो देऊ

साइकलका लागि छुटै बाटो देऊ भन्दै पेरुमा अर्धनग्न प्रदर्शन भयो । यद्यपि यसको कुनै हल निस्किएन । तथापि साइकलप्रेमीहरूले नग्न भएर साइकल दौडको आयोजना गर्न छाडेनन् । कम से कम यसबाट सरकारसम्म आफ्नो कुरा त पुग्छ भन्ने प्रदर्शनकारीको ध्येय थियो ।

एयरपोर्टमा स्क्यानरको विरोध

२०१० मा जर्मनीका केही एयरपोर्टमा पाइरेट्स पार्टीका कार्यकर्ताले नग्न भएर प्रदर्शन गरे । यिनीहरु एयरपोर्टमा स्क्यानर चेकिङको क्रममा कपडा उतार्नु परेकाले हैरान थिए । उनीहरुले केही हवाइ अड्डामा प्रदर्शन गर्दै स्लोगन लेखेका थिए– हामीलाई स्क्यान गर्न कुनै जरुरी छैन, त्यसै पनि हामी नग्न छौं ।

मिनी स्कर्टका लागि प्रदर्शन

एक छात्रालाई मिनी स्कर्टका कारण कलेजले निष्काशन गरेपछि ब्राजिलका विद्यार्थीले कपडा उतारेर विरोध प्रदर्शन गरेका थिए । २ सय ५० जना विद्यार्थीले कपडा उतारेर युनिभर्सिटीमा सेक्सिज्मको विरोधमा प्रदर्शन गरेका थिए ।

पर्यावरणका लागि

२००७ मा स्विस एल्प्समा ६ सय जनाले पर्यावरणका लागि आफ्ना सबै कपडा उतारेका थिए ।

जनावरको मासुका विरुद्ध लडाईं

जनावर संरक्षणसम्बन्धी संस्था पेटाका कार्यकताले जनावरको मासु खाने विरुद्ध अनौठा–अनौठा प्रदर्शन गरेका थिए । उनीहरुले आफ्नो नग्न शरीरमा पुरै रगत दलेर विरोध गरेका थिए । उनीहरुको नारा थियो– मिट इज मर्डर ।

(एजेन्सीको सहयोगमा)

Logo