निर्वाचन चिह्न अंकित टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

निर्वाचन चिह्न अंकित टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध


काठमाडौं, ५ कातिक ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ ।

मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत-निर्वाचन अधिकृत, प्रजिअ, क्षेत्रीय-जिल्ला निर्वाचन अधिकारीलाई आयोगले आज पत्र पठाई राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत हुने सामग्री उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाइका साथ रोकथाम र नियन्त्रण गर्न निर्देशन दिएको उनले बताए ।

राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री व्यापक रूपमा उत्पादन तथा वितरण गर्न लागेको सूचना पाएपछि आयोगले यस्तो निर्णय लिएको हो । आयोगले पठाएको पत्रमा भनिएको छ, “निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री प्रयोग गरेको पाइएमा जफत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गरिने छ ।”

यसअघिको निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधी कारबाही गरेको थियो ।

निर्वाचनको अनुगमन गर्ने क्रममा आयोगबाट खटिएको टोलीले दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नअंकित टी शर्ट, टोपी, गम्छा र झोला बरामद गरी नष्ट गर्नाका साथै सम्बन्धित पक्षलाई कारबाही गरेको थियो । रासस

Logo