यस्ता लक्षणमा नजरअन्दाज नगर्नुहोस्, क्यान्सर हुनसक्छ

यस्ता लक्षणमा नजरअन्दाज नगर्नुहोस्, क्यान्सर हुनसक्छ


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ असोज ।

सुरुआती चरणमा थाहा भयो भने क्यान्सरको उपचार संभव छ । शरीरमा हुने कतिपय परिवर्तनले क्यान्सरको संकेत गर्छन् । हुन त ती सबै संकेत क्यान्सर नै हो भन्ने होइन । यद्यपि, कहिलेकाहीँ त्यस्ता परिवर्तनले क्यान्सर लागेको जनाउ दिन्छन् ।

क्यान्सरको लक्षण पत्ता लगाएर सुरुआती चरणमै त्यसको उपचार गरियो भने क्यान्सरमुक्त भइन्छ । त्यसैले शरीरमा आउने ती परिवर्तनलाई नजरअन्दाज गर्नु हुन्न ।

१. अचानक तौल घट्नु
यदि कुनै प्रयास बिना वा अन्य कारण नभए पनि अचानक तौल घट्न थाल्यो भने त्यसमा ध्यान दिनैपर्छ । किनभने क्यान्सरको सुरुआती लक्षण यस्तै देखिन्छ ।

२. निरन्तर दुखाइ
हरेक किसिमको दुखाइ क्यान्सरको निशानी होइन । तर, लगातार दुखिरहन्छ भने त्यो क्यान्सर पनि हुनसक्छ । जस्तो कि, टाउको दुखिरहनुको अर्थ यो होइन कि तपाईलाई ब्रेन क्यान्सर भयो । तर, चिकित्सकसँग भेट्नु आवश्यक हुन्छ ।

३. निको नहुने घाउ
अक्सर घाउ एउटा चरणमा पुगेपछि निको हुन्छ । तर, कुनै पनि घाउ तीन हप्तासम्म पनि उस्तै रह्यो, त्यसमा कुनै उपचार लागेन भने चिकित्सकलाई भेट्नैपर्छ ।

४. पाचनमा समस्या
पाचनमा समस्या अनेक कारणले हुन्छ । तर, निरन्तर पाचन प्रक्रियामा गडबडी हुन्छ भने त्यसलाई बेवास्ता गर्नु हुन्न ।

५. पिसाबमा रगत
पिसाबको रंग र वेगले कति रोगको पहिचान हुन्छ । यदि पिसाबमा रगत बग्छ भने त्यसले ब्लाडर वा मृगौलाको क्यान्सरको संकेत गर्छ ।

६. तिल जस्तो निशान
तिल जस्तो देखिने हरेक निशान तिल नै हुन्छ भन्ने छैन । त्यस्तो कुनै पनि निशान छ भने चिकित्सकलाई देखाइहाल्नुपर्छ । यो स्किन क्यान्सरको सुरुआत पनि हुनसक्छ ।

७. मासिक श्राव नरोकिनु
यदि मासिक चक्रपछि पनि रक्त श्राव रोकिँदैन भने त्यसमा ध्यान दिनैपर्छ । यसले पाठेघरको क्यान्सरको संकेत गर्छ ।

८. शरीरमा गाँठो आउनु
शरीरको कुनै भागमा गाँठो आउनु पनि क्यान्सरको लक्षण हुनसक्छ । यद्यपि सबै किसिमको गाँठो क्यान्सर नै हो भन्ने हुँदैन ।

९. निल्नमा समस्या
खानेकुराहरू सजिलै निल्न सकिँदैन भने गलाको क्यान्सर भएको संकेत गर्छ ।
(एजेन्सीको सहयोगमा)

Logo