प्रदेश २ : अब केवल चार स्थानीय तहको मतपरिणाम आउन बाँकी (सूचीसहित)

प्रदेश २ : अब केवल चार स्थानीय तहको मतपरिणाम आउन बाँकी (सूचीसहित)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ असोज ।

प्रदेश २ मा गत असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम अब अन्तिम चरणमा पुगेको छ ।

कुल १३६ मध्ये १३२ स्थानीय तहको नतिजा आइसकेको छ भने केवल ४ वटा स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ । ती चार स्थानीय तहमध्ये क्रमशः वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगर पालिका, बारागढी गाउँपालिका र राजवीराज नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ ।

मतपरिणाम बाँकी रहेका यी चार स्थानीय तहमध्ये २ मा संघीय समाजवादी फोरमको अग्रता छ भने नेपाली कांग्रेस र नेकपा एमालेको एक–एक स्थानमा अग्रता छ ।

अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार २५ नगरपालिका र १३ गाउँपालिका जितेर काँग्रेस ३८ स्थानीय तह जित्दै पहिलो भइसकेको स्थिति छ ।

कांग्रेसभन्दा पछाडि ९ नगरपालिका र १६ गाउँपालिकासहित २५ स्थान जितेर संघीय समाजवादी फोरम नेपाल दोस्रो स्थानमा छ ।

यसैगरी १ उपमहानगरपालिका, १२ नगरपालिका र ११ गाउँपालिकासहित २४ स्थान जितेर राष्ट्रिय जनता पार्टी नेपाल तेस्रो स्थानमा छ ।

अर्कोतिर १३ नगरपालिका र ८ गाउँपलिका जितेर माओवादी केन्द्रले जम्मा २१ स्थानीय तह जितेर चौथो स्थानमा छ । नगरपालिका जित्ने पार्टीमध्ये भने माओवादी दोस्रो स्थानमा छ ।

नेकपा एमालेले १ उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिकासहित १८ स्थानीय तह जितेर पाँचौं स्थानमा छ । उसको अझै एक स्थानमा अग्रता कायम छ ।

अन्य पार्टीमध्ये नेपाल लोकतान्त्रिक फोरमले १ नगरपालिका र २ गाउँपालिकामा जित हात पारेको छ भने नेपाल जनता दलले १ नगरपालिका र १ गाउँपालिका जितेको छ । त्यसैगरी नयाँ शक्ति नेपाल पार्टीले १ गाउँपालिका जितेको छ ।

हेर्नुहोस् सूची :

१. नेपाली कांग्रेस – ३८ (अग्रता १)

२. संघीय समाजवादी फोरम – २५ (अग्रता २)

३. राष्ट्रिय जनता पार्टी – २४ (अग्रता ०)

४.नेकपा माओवादी केन्द्र – २१ (अग्रता ०)

५. नेकपा एमाले – १८ (अग्रता १)

६. फोरम लोकतान्त्रिक – ३ (अग्रता ०)

७. नेपाली जनता दल – २ (अग्रता ०)

८. नयाँ शक्ति पार्टी नेपाल – १ (अग्रता ०)

Logo