सिद्धबाबामा पहिरो: मृतक ३ जनाको सनाखत

सिद्धबाबामा पहिरो: मृतक ३ जनाको सनाखत


बुटवल, ७ असोज ।  बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ मा आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा

मृत्यु हुनेको संख्या ३ पुगेको छ । पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना३ख ६१९२ नंको ट्रक र लु१च ७९९४ नंको मारुती अल्टो कारलाई पुरेको थियो । पहिरोले च्यापिएर कारमा सवार दुईजनाको र ट्रकका चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार अर्का ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन् । कारमा तीनजना र ट्रकमा एकजना सवार थिए । दुर्घटनाका कारण बिहानदेखि सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका थिए ।

Logo