दशैँ रमाइलो : सपिङ, फुड, फन र फिल्म

दशैँ रमाइलो : सपिङ, फुड, फन र फिल्म


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ असोज ।

यस वर्षको दशैँ आजदेखि सुरु भएको छ । आज नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना पनि हो । दुर्गा भगवतीको पूजाआजा गरी सम्पूर्ण शुद्धिसहित जमरा राखेर विधिवत् तरिकाले विजादशमीको शंखघोष भइसकेको छ ।

दशैँ भनेकै रमाइलो चाडपर्व । घुमफिर, स्वादिष्ट खानपान र रमाइलो भेटघाटको अवसर । मान्यजनको हातबाट टीका थापेर सुस्वास्थ्य र दीर्घायुको शुभाशीष लिने अवसर । कामकाज र स्कुलकलेजको पढाइबाट विश्राम पाइने विशेष बेला । नयाँ कपडा, पोसाक र अन्य नयाँ कुराको किनमेल गर्ने समय पनि हो दशैँको अवसर ।

थरीथरीको स्वाद चाख्दै, चलचित्र हेर्दै, गेम खेल्दै किनमेल गर्नुको आनन्द कस्तो होला ? सहरी क्षेत्रका सपिङ मल चाहर्नेहरूसँग यसको खास अनुभव छ । वातानुकुलित वातावरणमा सहज रूपमा किनमेल गर्न पाइने, त्यो पनि एकै छानोमुनी । न पार्किङको चिन्ता, न सुरक्षाकै । मनोरञ्जनसँगै उन्मुक्त किनमेल गर्न चाहनेहरूका लागि राम्रो विकल्प बनेको छ– सपिङ मल ।

सहरी क्षेत्रमा सपिङ मल यस्तो गन्तव्य भएको छ, जहाँ मनोरञ्जनसँगै आरमदायक ढंगले किनमेल गर्न सकिन्छ । एकै छानोमुनी छानीछानी किनमेल गर्न पाइने भएकाले मात्र होइन, सुरक्षित, सहज र मनोरञ्जनात्मक हुने भएकाले सपिङ मलतर्फ उपभोक्ताको पाइला मोडिन थालेको हो । अहिले राजधानीमा मात्र आधा दर्जनभन्दा बढी भव्य र सुविधायुक्त मल सञ्चालनमा छन् ।

सपिङमा पनि भरपूर मनोरञ्जन लिन चाहने होस् वा समयको अभावमा छिटो छरितो किनमेल गर्नेहरू नै, दुवैथरीको आवश्यकता र बाध्यता पूरा गर्न हाजिर छ– मल ।

फुर्सदको समयमा परिवारसहित रमाइलो ढंगले किनमेल गर्नेहरूका निम्ति मलमा अनेकौ विकल्प छन् । उनीहरू सपिङसँगै गेम खेल्न, परिकारको स्वाद चाख्न, चलचित्र हेर्न सक्छन् । गल्ली गल्ली चहारेर किनमेल गर्न नभ्याउनेहरू पनि मल गए हुन्छ । उनीहरूले एकै छानोमुनी छानीछानी किनमेल गर्न सक्छन् ।

२०३९ सालमा विशालबजारको स्थापनासँगै राजधानीमा मलको अवधारणा सुरु भएको मानिन्छ । त्यसपछिका अवधिमा सपिङ मल विस्तार मात्र भएन, सुविधायुक्त पनि हँुदै गयो । अहिले राजधानीमा खुलेका सपिङ मलहरू यस्ता छन्, जसको संरचना, इन्टेरियरदेखि सेवा सुविधाले उपभोक्ताको मन लोभ्याउँछ । सिटी सेन्टर, सिभिल मल, राइजिङ मल, केएल टावर जस्ता आधा दर्जनभन्दा बढी मलले किनमेलदेखि मनोरञ्जन, खानपानसम्मका सबै सुविधा उपलब्ध गराएका छन् ।

मलहरूको तीव्र विस्तारले सहरियाहरूको किनमेल गर्ने संस्कृतिमा समेत परिवर्तन ल्याइदिएको छ । विगतमा जस्तो एकपछि अर्को पसल चहार्दै किनमेल गर्नुपर्ने बाध्यतालाई यसले टारिदिएको छ । चोरिने, लुटिने र ठगिने भयबाट पनि केही राहत दिलाएको छ । पार्किङको समस्या किनारा लगाइदिएको छ ।

वातानुकलित ठाउँमा स्वच्छन्द किनमेल गर्न पाउनु सपिङ मलका खास विशेषता हुन् । फुडकोर्ट, मल्टिप्लेक्स हल, गेमिङ जोन, किड गेम जोन, लिफ्ट, एटिएम जस्ता अतिरिक्त सुविधाले उपभोक्तालाई थप सुविधा र मनोरञ्जन दिलाएको छ ।

फुड

सुन्धारास्थित सिभिल मलको माथिल्लो फ्लोरमा फुड कोर्ट भेटिन्छ, जसले देशविदेशका खान्की पस्किरहेको हुन्छ । त्यहाँ १२ वटा अलग–अलग किचेन छन् । ती किचेनबाट नेवारी, थकालीजस्ता परम्परागत नेपाली परिकारदेखि चाइनिज, जापानिजसम्मका भेराइटी पाइन्छन् । बेइजिङ डक खाने कि बर्गर ? नेवारी समबजी खाने कि तोमयाम सुप ? उपभोक्ताको मर्जीअनुसार जस्तोसुकै खान्की टेबलमा आइपुग्छ । स्ट्रिट फुडका पारखी समेत त्यहाँ रमाउन सक्छन् । मलको प्राङ्गणमा थरीथरीका परिकार पाक्ने किचेन उपलब्ध छ ।

कमलपोखरीस्थित सिटी सेन्टरमा पनि स्ट्रिट फुडको स्वाद लिन पाइन्छ । मलको सबैभन्दा माथिल्लो तलामा फुडकोर्ट छ । आसपासको मनोरम दृश्य हेर्दै थरीथरीका स्वाद चाख्नका निम्ति यो फुडकोर्ट उपयुक्त गन्तव्य हुनसक्छ । त्यहाँ थाई, इटालियन, मेक्सिकन, चाइनिज, जापनिज तथा कन्टिनेन्टल परिकार पाइन्छ ।

यता चाबहिलको केएल टावरको पाँचौं तलामा पनि स्तरीय फुडकोर्ट छ । त्यसो त यस्ता मल छैनन् जहाँ खानपिनको व्यवस्था नभएको होस् । फुडकोर्ट नभएकै सपिङ सेन्टरमा पनि छुटाछुटै रेष्टुराँ सञ्चालनमा छन् ।

फन

तपाईं सिभिल मल पुग्नुहोस् वा सिटी सेन्टर, काठमाडौं मल छिर्नुहोस् वा केएल टावर । सबैमा गेमिङ जोन फेला पार्नुहुनेछ । किनमेलको ह्याङओभरबाट एकैछिन रिफ्रेस हुनका निम्ति यो राम्रो गन्तव्य हुनसक्छ ।

अधिकांश सपिङ मलमा गेमिङ जोन सञ्चालनमा ल्याइएको छ । यस्ता गेमिङ जोनमा तन्नेरीहरूको बाक्लो भिड लाग्ने गर्छ । त्यहाँ बलिङ, स्नुकरदेखि प्ले स्टेसन थ्रीसम्मका थुप्रै इन्डोर खेल खेल्न सकिन्छ । त्यस बाहेक प्ले स्टेसन थ्रीबाट खेलिने फिफा, काउन्टर स्ट्राइक, डोटादेखि स्ट्रिट फाइटर, एरो फाइटर, पिनबल, कार तथा बाइक रेस, रेस्लिङ जस्ता अनेकौं खेल त्यहाँ उपलब्ध हुन्छन् । हर्स राइडिङ, कार तथा बाइक रेसको वास्तविक आनन्द पनि यस्तै खेलमा अनुभव गर्न सकिन्छ । आफूले खरिद गरेको क्वाइनको आधारमा निश्चित समयसम्म यी खेलहरू खेल्न सकिन्छ ।

सम्पूर्ण खेलहरू एकै थलोमा खेल्न पाइन्छ, गेमिङ जोन छिरेपछि । त्यहाँ खेलका अतिरिक्त स्न्याक्स र ड्रिंक्स समेत उपलब्ध हुन्छ । गेमिङ जोनमै तयारी स्न्याक्स पाइन्छ भने फुडकोर्टको मेनु अनुसारको परिकार पनि पाइन्छ । फुडकोर्टले परिकार सर्भ गरिदिए वापत थप शुल्क लिने गरेका छैनन् । त्यसैगरी ग्राहककै सुविधाका लागि गेमिङ जोनमा लाइट र म्युजिक सिस्टमको व्यवस्था गरिएको हुन्छ । त्यहाँ ग्राहकले आफ्नो रुचिअनुसारको गीत पनि फर्माइस गर्न सक्छन् । आरामदायक ढंगले खेल खेल्न पाइने यस्ता सुविधासम्पन्न गेमिङ जोन खुल्ने क्रम बढेको छ ।

त्यसो त बालबच्चासहित किनमेल गर्न जानेहरूले पनि त्यहाँ थप झन्झट मोल्नुपर्ने छैन । आफ्नो बच्चालाई किड गेमिङ जोनमा छाडेर ढुक्कसाथ किनमेल गरे हुन्छ । यस्ता गेमिङ जोनमा बालबालिकालाई खेल्नका लागि अनेकौं खेलौना र खेलहरू तैनाथ छन् ।

फिल्म

मलमा जानुको अर्को मज्जाको हो, मल्टिप्लेक्समा फिल्म हेर्न पाउनु । अधिकांश सपिङ मलमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएका छन् । तुलनात्मक रूपमा महँगो भए पनि सुविधा र स्तरीयताका लागि यस्ता मल निर्विकल्प रोजाइ बन्ने गरेका छन् ।

एकै छानोमुनी दुईभन्दा बढी हल उपलब्ध हुनुले मात्र होइन, आरामदायक ढंगले वातानुकुलित हलमा फिल्म हेर्नुको आनन्दले पनि धेरैलाई मल्टिप्लेक्सतिर डोहोर्‍याउने गरेका छन् । एकातिर किनमेल गरेर अर्कोतिर फिल्म हल दौडिनुपर्ने झन्झटको एकमुष्ठ समाधान दिएको छ, मल्टिप्लेक्सले ।

सिटी सेन्टरमा बिग सिनेमा सञ्चालनमा ल्याइएपछि सपिङ मलमा मल्टिप्लेक्स अनिवार्य जस्तै भयो । बिग सिनेमा आएको एक वर्षपछि सिभिल मलमा तीनवटा थिएटर सञ्चालनमा ल्याइयो । त्यसपछि १४ करोडको लगानीमा केएल टावरमा एफक्युब निर्माण गरिए । यसमा पनि तीनवटा हल छन् । अहिले सिटी सेन्टरको बिग सिनेमा, सिभिल मलको क्युएफएक्स, केएल टावरमा एफक्युब, राइजिङ मलमा क्युएक्स सिनेमा जस्ता मल्टिप्लेक्स हल छन् ।

केही समयअघि सुन्धाराकै सिटिसी मलमा यस्तो हल सञ्चालनमा ल्याइयो जहाँ दर्शकका निम्ति हलमै विभिन्न परिकार र पेय सर्भ हुन्थ्यो । ‘सिने डि सेफ’ हलमा दर्शकले आफू बसेकै सिटबाट मसाज गर्न सक्थे भने पेय पदार्थ चिसो राख्ने सुविधा समेत थियो । यद्यपि परार साल वैशाखमा गएको भूकम्पपछि यो हल सञ्चालनमा छैन । त्यसो त अधिकांश मल्टिप्लेक्समा थ्रिडी सिनेमाको आनन्द लिन सकिन्छ । त्यसबाहेक ८ डी, १२ डी सिनेमा पनि सञ्चालनमा छन् ।

 

Logo