यस्तो छ निर्वाचनको सुरक्षा ब्यबस्था

यस्तो छ निर्वाचनको सुरक्षा ब्यबस्था


काठमाडौँ, ३१ भदौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । सुरक्षा व्यवस्थामा कहीँकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै उनले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको टिप्पणी गरे  । 

प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । 

प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिए । आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उनको भनाइ छ । 

उनले भने,- “केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएको छ, सोहीअनुसार सुरक्षा निकाय परिचालन भएका छन् ।” निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । 

राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ । विशेषतः २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ । प्रवक्ता सुवेदीले कुनै पक्षबाट सुरक्षा चुनौती नरहेको टिप्पणी गर्नुभयो । उनले भने –  केही समयअघि आएको बाढी, पहिरोले २ नम्बर प्रदेशमा पु¥याएको क्षति मात्रै हाम्रा लागि चुनौती हो, अरु त्यस्तो कुनै चुनौती अहिलेसम्म देखिएको छैन । 

दुई हेलिकप्टर तयारी अवस्थामा 

निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिए । तेस्रो चरणको निर्वाचनमा छ हजार ६०० पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । २ नम्बर प्रदेशमा जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेका छन् । रासस

Logo