अब रामपुरमा पनि सिभिल इञ्जिनियरिङको पढाइ

अब रामपुरमा पनि सिभिल इञ्जिनियरिङको पढाइ


रामपुर, २४ भदौ । पाल्पाको रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु भएको छ । 

जिल्लाको दोस्रो व्यापारिक केन्द्र रहेको रामपुरको दरैठाँटी माध्यमिक विद्यालयले तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु गरेको हो । 
घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा विद्यार्थी पनि निकै उत्साहित भएका छन् । हालैमात्र सञ्चालनमा आएको यस सिभिल इञ्जिनियरिङ शिक्षाका लागि ४८ वटा कोटा रहेकोमा अहिले २८ जना विद्यार्थी भर्ना भएका छन् ।

यहाँ पाल्पालगायत स्याङ्जा, काभ्रे, इलाम, काठमाडौँ, सिन्धुली, डोटी, अछाम, धनगढी, झापालगायतका विभिन्न जिल्लाका विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले जानकारी दिए । सस्तो र गुणस्तरिय खालको शिक्षा प्रदान गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यले विद्यालयमा सिभिल इञ्जिनियरिङ कक्षा शुरु गरिएको प्रअ देवकोटाले बताए । 

तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ शिक्षा अन्तर्गत सात विषयको पढाइ भइरहेको छ । ४८ जनाको कोटामध्ये चारजना गरिब जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क नलिने विद्यालयले व्यवस्था गरेको छ । माध्यमिक तह शिक्षा पूरा गरेपछि अन्यत्र पठनपाठनका लागि बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो । रासस

Logo