नेपालमा जनावरको डिएनए परीक्षण सुरु

नेपालमा जनावरको डिएनए परीक्षण सुरु


– सञ्चिता घिमिरे
ललितपुर, २२ भदौ । नेपालमा मानवको हुँदै आएको ‘डिएनए’ परीक्षण अबदेखि जनावरको पनि सुरु भएको छ ।

नेपाल विधि विज्ञान प्रयोगशालाले एक महिना पहिले मानिसको जस्तै जनावरको डिएनए परीक्षण सुरु गरेको हो । यसअघि नेपालमा जनावरको डिएनए परीक्षण सम्भव थिएन ।
जनावरको डिएनए परीक्षणले अपराध अनुसन्धानमा ठूलो सहयोग पुग्ने प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताए । उनले भने , हामीले गर्ने अनुसन्धानको नतिजाबाट प्रहरीलाई अपराध अनुसन्धानको कारवाही अघि बढाउन सहयोग मिल्नेछ ।

यसबाट वन्यजन्तु चोरी–सिकारीलाई नियन्त्रण गर्न पनि सहयोग पुग्ने कार्यकारी निर्देशक रिजाल बताउछन् । मासु, हड्डीलगायत जनावरको शरीरको कुनै पनि भाग भेटिएमा त्यसकै आधारमा प्रयोगशालामा परीक्षण हुने कार्यकारी निर्देशक रिजाल बताउछन् । मासु काटिएको भए त्यसका लागि प्रयोग भएका सामग्रीका आधारमा समेत कुन जनावर हो भनी पत्ता लाग्छ, उनले भने– अचानो, रगतको छिटालगायतबाट समेत पहिचान गर्न सकिन्छ ।

मानवको डिएनए परीक्षणका लागि प्रयोग भएको उपकरणबाट नै जनावरको परीक्षण भएको हो । उपकरणमा केही कुरा मात्र थप भएको छ, उनले भने, हामीले नयाँ उपकरण नै भित्राएको भने होइन ।

एउटा जनावरको मासु भनेर अरुको बिक्री भइरहेकालगायत मुद्दामा पनि प्रयोगशालामा हुने परीक्षणले कारबाही अघि बढाउन सहयोग गर्नेछ । एक महिनामा प्रयोगशालामा चार मुद्दा परीक्षणका लागि आइसकेका छन् । जिल्ला वन कार्यालय र उपभोक्ता समितिले जंगली जनावरसम्बन्धी मुद्धा लिएर प्रयोगशालामा आएका हुन् ।

नेपालमा यसअघि जनावरको डिएनए परीक्षण नहुँदा धेरै मुद्दा त्यसै फिर्ता हुन्थे । अझै पनि धेरैलाई जनावरको परीक्षण सुरु भएको जानकारी नभएको कार्यकारी निर्देशक रिजालले बताए । । उनले भने, आम मानिसमा जानकारी पुगेपछि यहाँ आउने मुद्दा बढ्नेछ ।

प्रयोगशालामा आएका चार मुद्दामा जंगली जनावरको शिकारसँग सम्बन्धित मुद्दा हुन् । बँदेलको मासु काटेर बिक्री गरेको मुद्दा परीक्षणका लागि केही दिन पहिले आइपुगेको थियो । बिक्रेताले झुक्काएर बँदेलको मासु बिक्री गरेको आशंकामा परीक्षण भएको थियो । परीक्षणले त्यो मासु बँदेलको नै भएको प्रमाणित गर्‍यो ।

अर्को मुद्दामा बाघको मासुको परीक्षण गरियो । बिक्रीका लागि लैजाँदै गर्दा पक्राउ परेको मासु परीक्षणका लागि प्रयोगशालामा पुर्‍याइएको हो । नेपालबाट चोरी शिकारी गरेर बाघ, चितुवालगायत जनावरको मासु विभिन्न देशमा अवैध रुपमा बिक्री हुने गरेको थियो । यसअघि परीक्षण नहुँदासमेत कतिपय अधिकारी जिल्ला वन कार्यालयबाट प्रयोगशाला आइपुग्थे ।

कार्यकारी निर्देशक रिजाल भन्छन्, हामीसँग पनि प्रविधि नहुँदा त्यसै फर्काउन बाध्य थियौँ । गाई वा भैँसी, खसी वा कुकुरलगायत परीक्षण सहज रुपमा हुने उनी बताउछन् । नेपालमा गाई काट्न वा बिक्री वितरण रोक लगाएपनि काट्दा काट्दै भेट्दा मात्रै कारबाही हुने गरेको थियो । जनावरको डिएनए सम्भव भएपछि भने सानो प्रमाणको आधारमासमेत अनुसन्धान हुने भएको छ । रासस

Skip This
Logo