चिलिमेका दुई कम्पनीको साधारण शेयर आउँदै, सञ्चयकर्ता प्राथमिकतामा

चिलिमेका दुई कम्पनीको साधारण शेयर आउँदै, सञ्चयकर्ता प्राथमिकतामा


– रमेश लम्साल
काठमाडौँ, २२ भदौ । चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका दुई महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ ।

चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्न लागेका हुन् ।

रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको हो । साधारण शेयर जारी गरेर १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैंया बराबर रकम जोहो गर्ने आयोजनाको तयारी छ ।

नेपाल–चीन सीमा नजिक कूल १ सय ११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, नेपाली नागरिकको १५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, कर्मचारी सञ्चयकोषलगायतको १९ दशमलब ५ प्रतिशत र अन्यको ४ दशमलब ५० प्रतिशत शेयर रहनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत वैशाख १३ गते साधारण शेयर निष्कासनका लागि निवेदन दिएको थियो । बोर्डले मागेका केही सुझावसमेत बुझाइसकेको कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एआइबिएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

आयोजनाका प्रमुख माधव कोइरालाले भूकम्प र भारतको अघोषित नाकाबन्दी तथा ठेकेदारको समस्याका कारण केही ढिला भएको आयोजना हाल युद्धस्तरमा निर्माण भइरहेको बताए ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत वैशाख १२ गते आवेदन दिएको थियो । सो कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको छ । ८७ करोड ६० लाख रुपैंया बराबरको साधारण शेयर जारी गर्न कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ ।

सो कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गरेका कर्मचारी तथा लगानी गरेका कम्पनीका कर्मचारीलाई साधारण शेयर दिन लागेको हो । उक्त कम्पनीले १४ दशमलब ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलब ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ४५ प्रतिशत सम्पन्न भएको छ । यसबाट सबैभन्दा बढी लाभ कर्मचारी सञ्चयकोषमा कोष कट्टी गरिरहेका तथा लगानीकर्ता कम्पनीका कर्मचारीलाई हुनेछ ।

निजी प्रवद्र्धकको साधारण शेयर आउँदै

बोर्डमा आवेदन दिइएको आधारमा हेर्ने हो भने यस वर्ष विभिन्न १४ जलविद्युत् कम्पनीको मात्रै प्राथमिक शेयर र थप निष्कासन (एफपिओ) गरी ५ अर्ब ७ करोड रुपैंया भन्दा बढी शेयर बजारमा आउन लागेको छ ।

कुल १४ जलविद्युत् कम्पनीले आइपिओ र एफपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आवेदन दिएका सबैको शेयर यस वर्षभित्रै निष्कासन हुनेछ ।

बुटवल पावर कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा एफपिओ निष्कासन गर्न लागेको छ । सो कम्पनीले प्रतिकित्ता ५ सय १८ रुपैंया प्रिमियम मूल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी रहेको उक्त प्रस्तावअनुसार ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई ११ करोड रुपैंया बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई ७ करोड ६४ लाख ५५ हजार रुपैंया बराबरको ७ लाख ६४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयवासीलाई ८ करोड रुपैंया बराबरको ८ लाख कित्ता शेयर निष्कासन गर्न लागेको जनाएको छ । आयोजनाका प्रमुख विश्वनाथ कँडेलले साधारण शेयर निष्कासनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

यस्तै गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई २ करोड रुपैंया बराबरको २ लाख कित्ता साधारण शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीलाई ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता र शुभम् पावर लिमिटेडले स्थानीयवासीलाई २ करोड रुपैंया बराबरको २ लाख तथा लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानीयवासीलाई ९ करोड ७८ लाख रुपैंया बराबरको ९ लाख ७८ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ ।

बोर्डकाअनुसार युनिक हाइडेल लिमिटेडले ५ करोड ५५ लाख रुपैंया बराबरको ५५ लाख कित्ता, सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख ३० हजार रुपैंया बराबरको २२ लाख ९८ हजार कित्ता, कालिका पावर लिमिटेडले स्थानीयवासीलाई ६ करोड रुपैंया बराबरको ६ लाख कित्ता र युनियन हाइड्रोपावर लिमिटेडले ६ करोड ३३ लाख ७४ हजार रुपैंया बराबरको ६ लाख ३३ हजार कित्ता साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । रासस

Logo