नेपाल आइडल : भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

नेपाल आइडल : भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २१ भदौ ।

पछिल्लो केही समयदेखि निकै चर्चामा रहेको र राम्रो प्रसिद्धी कमाइरहेको रियालिटी शो नेपाल आइडल कार्यक्रम अदालत तानिएको घटनाले त्यसका प्रशंसकहरूलाई स्तब्ध बनाएको थियो । बुधबार जिल्ला अदालत काठमाडौंले पर्सि (शुक्रबार) सम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

स्मरणीय छ, आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति दिएपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एकजना आउट हुने जानकारी गरायो ।

आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिस्पर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । नेपाल आइडलले भने कोही पनि नबाहिरिने पूर्व निर्धारित कार्यक्रम नै भएको दाबी गरेको छ ।

रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ ।

जिल्ला अदालतका अनुसार २३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्ने बताइएको छ।

Logo