क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको निधन

क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको निधन


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २१ भदौ ।

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको बुधबार बिहान निधन भएको छ । उनी ८९ वर्षका थिए । नेपाली क्रिकेटको उतारचढावमा लामो समयसम्म आबद्ध जयकुमारनाथ कुनै बेला प्रभावशाली राष्ट्रिय खेलाडी पनि थिए । उनी क्यानको टिमबाट विकेटकिपरको भूमिकामा खेल्ने गर्थे।

उनी पछिल्लो लामो समयदेखि मुटु रोगबाट ग्रसित थिए । उपचारका क्रममा उनलाई राखिएको नर्भिक अस्पतालमा नै उनको मृत्यु भएको हो ।

एक साताअघि निवासकै बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको आज बिहान १० बजेर २० मिनेटमा निधन भएको हो ।

शाहले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहालेका थिए । लगातार ४० वर्ष क्यानको अध्यक्ष पदमा रहेपछि तत्काली महासचिव विनयराज पाण्डेलाई उक्त पद सुम्पेका थिए । त्यो वर्ष (२०६३ सालमा) अध्यक्षबाट हटेपछि उनी क्यानका संरक्षक बनेका थिए।

उनी अध्यक्ष रहँदा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिता सुरु गरेको थियो भने केहि भौतिक पूर्वाधारसमेत बनेका थिए । उनकै नाममा लामो समयसम्म नेपालमा जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि हुने गर्दथ्यो ।

गत भदौ ६ गते काठमाडौंमा सम्पन्न नेपाल क्रिकेट संघको बिशेष साधारणसभामा बिशेष अतिथिको रुपमा उपस्थित भएका उनले क्रिकेटको भविश्यप्रति चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा उनले भनेका थिए, ‘नेपाली क्रिकेट यस्तो अवस्थामा किन आयो भन्नु भन्दा पनि सबै मिलेर पुरानै अवस्थामा ल्याउन र क्रिकेट बिकासमा योगदान गर्न आग्रह गर्छु ।’

यसैबीच नेपाल क्रिकेट संघ क्यानले बिज्ञप्ति जारी गरी संघका पूर्व अध्यक्ष तथा एसीसीका पूर्व उपाध्यक्ष शाहको निधनमा शोक प्रकट गरेको छ ।

उनी राजा महेन्द्रका साढुभाई समेत थिए ।

उनलाई विश्व क्रिकेटको पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आजीवन सदस्यता प्रदान गरेको थियो ।

Logo