‘पर्खी बसेँ’ का नायक राजवल्लभले गरे अमेरिकामा इन्गेजमेन्ट

‘पर्खी बसेँ’ का नायक राजवल्लभले गरे अमेरिकामा इन्गेजमेन्ट


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ भदौ ।

नेपाली सिने अभिनेता राजबल्लभ कोइरालाले अमेरिकामा सगाइ (इन्गेजमेन्ट) गरेका छन् । नेपाली समयअनुसार भदौ १८ गते (३ सेप्टेम्बर) आइतबार राती अमेरिकी राज्य भर्जिनियाको एक होटल ‘होलीडे इन’ मा उनको इन्गेजमेन्ट भएको हो ।

राजबल्लभले झापाली युवती प्रतिमा बिमलीसित औंठी र माला साटासाट गरेका हुन् । कार्यक्रममा दुवैतिरका पारिवारिक एवं निकटस्थहरू मात्र गरी करिब ४० जनाको उपस्थिति रहेको स्रोतले बताएको छ ।

प्रतिमा र राजबल्लभको विवाह तीन महिनापछि डिसेम्बर ३ तारिखमा अमेरिकामै हुने निश्चित भइसकेको छ ।

प्रतिमाको परिवारले इन्गेजमेन्टका केही तस्बिर फेसबुकहरूमा सेयर गरेका छन् । कोइरालाको तर्फबाट भने पछिसम्म यस्तो केही सार्वजनिकीकरण देखिएको थिएन ।

प्रतिमाको पुख्र्यौली घर झापाको अर्जुनधारा भए पनि उनको परिवार पछिल्लो लामो समयदेखि काठमाडौंको हाँडीगाउँमा बस्दै आएको हो । उनी बायो–मेडिकल इन्जिनियर हुन् र हाल मिनेसोटा राज्यमा कार्यरत छन् ।

प्रतिमाका पिता मातृका र आमा माया बिमली दुवै भर्जिनियावासी भइसकेका छन् भने साथीहरूमाझ आरकेबी भनेर पनि चिनिने राजको परिवार मेरील्यान्डको बाल्टीमोरमा बस्दै आएको छ । उनीहरू दुईजना दाजुभाइ र एक बहिनी हुन् । उनका भाइ अमेरिकी सेनामा कार्यरत छन् ।

करिब दुई दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेका राजबल्लभ ३१ अगस्त १९८२ मा पोखरामा जन्मेका हुन् । मोडलिङ र अभिनयमा आउनु पहिलेसम्म उनी पोखरा एफएम ९५.८ मा आरजेका रूपमा कार्यरत थिए । कर्णदासले गाएको ‘भेटाएर छुट्नु…’ गीतमा मोडलिङ गरेपछि उनी चर्चामा आएका हुन् ।

उनको पहिलो फिल्म थियो, ‘पर्खी बसेँ’ । र, यही फिल्म नै हलहरूमा लगातार सय दिन चलेर सफल एवम् अत्यन्त चर्चित बन्यो । उनी रातारात हिट भए । करिब दुई दर्जन फिल्म खेलेकोमा खासगरी अपवाद, मसान र पल आदि फिल्ममा गरेको उनको अभिनय निकै प्रशंसित एवम् सराहनीय मानिएको थियो ।

पर्खी बसेँ फिल्मका लागि उनले केटिभी फिल्म अवार्डमा बेस्ट डेब्यु एक्टर (मेल) अवार्ड पाएका थिए । दुई वर्षपछि सन् २०१० मा डिजिटल सिने अवार्ड र बक्स अफिस अवार्डहरूमा उनले बेस्ट एक्टर इन अ निगेटिभ रोल अवार्ड पाए ।

कोइराला चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका थिए । त्यसपछि, उनले उतै बस्ने निर्णय गरेका हुन् । सपरिवार अमेरिका बस्न थालेका कोइरालाले सन् २०१३ यता कुनै फिल्ममा काम गरेका छैनन् ।

Logo