पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै


काठमाडौँ, १२ भदौ । आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन् ।

राष्ट्रिय धर्म सभा नेपालले आयोजना गरेको चौथो पण्डित सम्मेलनमा आचारसंहितालगायत समसामयिक विषयमा छलफल गरी निष्कर्ष निकाल्न ५६ जिल्लाका ३ सय भन्दा बढी भेला भएका छन् । सम्मेलनको उद्घाटन गर्दै पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले पण्डितले आफू नियममा बसी समाजलाई पनि सही मार्गमा डोर्याउनुपर्ने बताउनुभयो ।

सभाका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले पण्डितको महत्व केही घटे पनि कम भने नभएकाले पूर्ववत् रुपमा निष्ठाका साथ काम गर्नुपर्नेमा जोड दिए । शास्त्रअनुरुप पण्डितले गर्ने विधिविधानमा एकरुपता ल्याई आचारसंहिता पालना गराउन कार्यक्रम आयोजना गरिएको जानकारी उनले दिए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले आशौचका विषयमा विभिन्न धर्मग्रन्थमा उल्लेख भएका तथ्य समेटिएको कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि टिप्पणी गर्दै पण्डितहरुले पाँच दिनमा मृत्यु संस्कार सिध्याउने विधिलाई अपनाउन नसकिने बताए ।

कार्यक्रममा भारतबाट आएका भारतीय जनजागृति संघका मार्गदर्शक डा चारुदत्त पिंगले, तन्त्रविशेषज्ञ डा दिवाकर शर्मा, दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेललगायतले पण्डितले आफ्नो संस्कारमा बसेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रा डा ऋषिराम पोखरेलले ‘के छ संस्कृतमा ?’ र सभाका अध्यक्ष भट्टराईले ‘नेपाली संस्कृतिका आयाम’ विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि छलफल गरी आचारसंहितासहितको काठमाडौँ घोषणापत्र जारी गरिने सभाका प्रवक्ता सन्तोष वशिष्ठले जानकारी दिए । ।

शत् र अशत् छुट्याई समाजलाई मार्गदर्शन गर्न सक्ने व्यक्तिलाई पण्डित भनिन्छ । आचरणमा बसेका पण्डितले राष्ट्रलाई जागरण गर्न सक्छन् भन्ने वेदको वाक्य छ । रासस

Logo