सर्पको डसाइ: चार महिनामा १४३ बिरामी, १३ को मृत्यु

सर्पको डसाइ: चार महिनामा १४३ बिरामी, १३ को मृत्यु


धनगढी, १० भदौ । गर्मी र वर्षायामको सुरुवातसँगै कैलाली जिल्लामा सर्पको डसाइका घटना बढ्न थालेका छन् । 

विषालु सर्पको डसाइबाट जिल्लामा गएको वैशाखदेखि साउन अन्तिमसम्म १४३ जना उपचारका लागि आएकोमा १३ जनाको मृत्यु भएको सेती अञ्चल अस्पताल आकस्मिक कक्षका प्रमुख कृष्णबहादुर बोहराले बताए । यो अवधिमा सर्पको डसाइबाट बिरामी भएकामध्ये विषालु सर्पले डसेका बिरामीको संख्या ४७ रहेको छ । 

अस्पतालमा गएको साउन महिनामा मात्रै सर्पले डसेका ६२ जना उपचारार्थ सेती अञ्चल अस्पताल भर्ना भएको बोहराले बताए । सात जनाको अस्पतालमा उपचारका क्रममा र छ जनाको उपचारार्थ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । अस्पतालले अन्य दुई बिरामीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरेको छ । 

गतवर्ष सेती अञ्चल अस्पतालमा २१५ जना सर्पडसाइका बिरामी उपचारका लागि आएकोमा सात जनाको उपचारको क्रममा मृत्यु भएको थियो । रासस

Logo