नारी दिवसः पुरुषहरुलाई पूर्व मिस तामाङको सुझाव

आज नारी दिवसमा नारीलाई पुरुष सरह समान व्यवहार गरिनुपर्छ भनी लेखिएका विभिन्न नाराहरु र लेखहरु देखेँ । समानताको सबैसँग आफ्नै व्याख्या विश्लेषण होलान्, तर मेरो बुझाई र विचार फरक छ।

जब तिमी सार्वजनिक बसमा यात्रा गर्छौ, म देख्ने गर्छु कि कति सजिलै तिमी आफ्नो सिट छोडेर उभिरहेकी महिलालाई दिन्छौ । तर, मेरा लागि त्यस्तो नगर । किनकी तिमी पनि मान्छे हौ र म बुझ्छु तिमी पनि त्यतिकै थाकेका छौ जति म थाकेकी छु । त्यसमाथि मेरा लागि त महिला सिट पनि छुट्टयाइएको छ, तर तिम्रा लागि छैन । त्यसैले चिन्ता नगर जसरी सधैं तिमी उठेर यात्रा गरिरहेका हुन्छौ त्यसरी नै म पनि उभिन सक्छु। यो हो मेरो लागि समानता।

जब केटीहरुसँग बसेर केही खान्छौं तब आफुसँग नहुँदा साथीलाई मागेर भएपनि तिमी बिल तिर्न अघि सर्छौ । तर, जब मसँग बसेर खान्छौं म चाहन्छु कि बिलको पैसा बराबर दुई भागमा बाँड र मलाई पनि त्यति नै तिर्न लगाउँ जति तिमी तिर्छौ । किनकी मैले पनि त्यति नै खाएकी हुन्छु जति तिमिले खाएका हुन्छौ । न त तिमीसँग सित्तैमा पैसा आउँछ न त म सँग । त्यसैले किन बिल तिमीले मात्र तिर्ने ? बराबरी तिरौ। यो हो मेरो लागि समानताको परिभाषा ।

जब तिमीलाई आफ्नो प्रेमिका वा श्रीमतीले धोका दिन्छन्।  तिमीलाई झुक्याएर अरु पुरुषहरूसँग सम्बन्ध राख्छिन् तब अरुको अघि पुरुषत्व गुम्ने डरले आफ्नो पीडा, चोट र भावनाहरु दबाउनु जरुरी छैन । तिमीलाई पटक पटक धोका दिने मान्छेसँग समाजको डरले उसैसँग बस्नुपर्छ भन्ने पनि छैन । तिम्रो पनि मन हो। र, रुन तिमीलाई पनि मन लाग्छ । त्यसैले निर्धक्क भएर आफ्नो भावना पोख, मनको पीडा शान्त नहुन्जेल रोउ र त्यो मान्छे रोज जसले तिमीलाई अगाध माया गर्छ । विश्वास गर, तिमी रुँदा न त म तिमीलाई कायर भन्नेछु न त तिमीले नयाँ जीवनसाथी रोज्दा ‘प्ले ब्वाय’को संज्ञा दिनेछु । यो हो मेरो लागि समानता भनेको।

तर बुझ्नुपर्ने कुरा के हो भने तिमी हामीलाई पिडित होईन सक्षम बनाउ । परनिर्भर होइन आत्मनिर्भर बन्न सिकाउ । तिमी हाम्रोलागि बोलिदेउ हामी पनि तिम्रा पिडाहरु बुझि दिनेछौँ । जब यस्तो हुन्छ तब हामी कसैले पनि आफ्नो हक अधिकारको निम्ति आवाज उठाउनु पर्दैन, हेपिनु र दबिनु पर्दैन । त्यसैले, आऊ तिमी हामी मिलेर आजको दिन मात्र होइन हरेक दिन विशेष बनाऔं ।

(सिम्रन मिस तामाङ २०१८ की बिजेता हुन्)