अनेरास्ववियु क्रान्तिकारीको विधान संशोधनका लागि २१ समूह गठन

अनेरास्ववियु क्रान्तिकारीको विधान संशोधनका लागि २१ समूह गठन


काठमाडौँ, ९ भदौ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन (अनेरास्ववियु क्रान्तिकारी) को २१औँं राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि विभिन्न २१ समूह गठन गरी छलफल शुरु गरिएको छ । 

यही भदौ ७ गतेदेखि शुरु भएको सम्मेलनमा देश तथा विदेशबाट सहभागी प्रतिनिधिका धारणा लिनका लागि ती समिति गठन भएको उपाध्यक्ष मदन अर्यालले जानकारी दिए । 
कीर्तिपुरस्थित स्मृति भवनमा भइरहेको बन्दसत्रमा अहिलेको विधानलाई राम्रोसँग अध्ययन गरी समितिले मुलुकको संरचनाअनुसार अबको संगठन समायोजन, समाजवादी शिक्षा कार्यान्वयन, मुलुकको प्राकृतिक स्रोत तथा साधनमा आधारित व्यावसायिक शिक्षालगायत विषयमा सुझाव दिने छ । 

संगठनको नेतृत्वका लागि उमेरको हदबन्दी लगाउनका लागि सहभागी प्रतिनिधिबाट सुझाव आएको बताइएको छ । ‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि एकताको २१औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ गरिएको सम्मेलनमा सुझावसहित विधान परिमार्जन भएपछि अनुमोदन गरिनेछ । सम्मेलनमा दुई हजार ७६ प्रतिनिधि सहभागी छन् । 

यही भदौ ११ गते सम्पन्न हुने उक्त सम्मेलनले सकेसम्म सर्वसम्मत तथा नभए चुनावबाट नयाँ नेतृत्व छनौट गर्ने विद्यार्थी नेता माधव पाण्डेले जानकारी दिए । आजको बैठकले पुरानो कार्य समिति विघटन तथा अध्यक्ष मण्डल गठन गर्नेछ । संगठनका पूर्वअध्यक्ष रमेश मल्लको नेतृत्वमा निर्वाचन समिति गठन भइसकेको छ । रासस

Logo