युवराज लामा भन्छन्– ‘सेन्सर बोर्ड खारेज हुनु हुँदैन’

युवराज लामा भन्छन्– ‘सेन्सर बोर्ड खारेज हुनु हुँदैन’


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ भदौ ।

सेन्सर बोर्ड खारेज हुनुपर्छ भनेर चलचित्रकर्मीको लबिङ चौतर्फी रूपमा सुरु भएका बेला वरिष्ठ चलचित्रकर्मी युवराज लामा भने सेन्सर बोर्डको पक्षमा खुलेर लागिपरेका छन् । उनको तर्क छ– ‘संसारका विकसित र राम्रो फिल्म बनाउने देशहरूले समेत सेन्सर हटाउन सकेका छैनन् ।’

चलचित्र सिर्जनाको माध्यम भएको हुनाले यसलाई काँटछाँट गर्ने अधिकार कसैलाई नहुने सेन्सर बोर्ड खारेज हुनुपर्छ भन्नेहरूको तर्क छ । उनीहरूको तर्कलाई यतिबेला राष्ट्रिय स्तरका मिडियाहरूले महत्व दिइरहेका छन् । तर लामा भने यो मान्न तयार छैनन् ।

उनले सामाजिक सञ्जालमा व्यक्त गरेको एक दिनको स्टाटस यस्तो छ– ‘विकसित राष्ट्रहरूले समेत फिल्म सेन्सर हटाउन हिम्मत गरेका छैनन् । किनकी चलचित्रको कारण कुनै मत र विषयले समाजमा द्वन्द्व भड्काउन सक्छ भन्ने डर अहिले पनि संसारभरका राष्ट्रका सरकारहरूमा छ । अति स्वतन्त्रवादी चलचित्रकर्मीहरूले सेन्सर हुनु हुँदैन भनेर बहस गर्ने गरेका छन् । नेपालमा ऋतिक रोशन कान्डमा केहीको ज्यान गयो, हिन्दी चलिचत्रमा सगरमाथा भारतमा हो भन्ने शब्दले सडक ततायो । यसको जवाफ सेन्सर चाहिँदैन भन्ने नेपालका अति स्वतन्त्रवादीहरूले दिन सकेका छैनन् । केही विदेशी चलचित्र व्यवसायी र केही एनजिओ/आइएनजीओकर्मीहरू फिल्म सेन्सर बोर्डको विपक्षमा चलचित्र उद्योगको प्रारम्भदेखि नै देखिएका थिए । किन हो भनेर बुझ्न गाह्रो छैन ।’

लामाको अर्को स्टाटस यस्तो छ– ‘जब नेपाली चलचित्रसम्बन्धी संघ–संस्था कमजोर भएको अनुभूति हुन्छ, तब विदेशी चलचित्र व्यवसायीहरू र केही एनजिओ/आइएनजिओकर्मीहरूले राष्ट्रिय चलचित्र उद्योगलाई प्रत्यक्ष–अप्रत्यक्ष कमजोर पार्ने र विदेशी चलचित्रलाई सहज हुने नीति बनाउन पहल गर्ने गर्दछन् । त्यसको एउटा कडी सेन्सर बोर्ड खारेजको माग पनि हो ।’

युवराज लामाका यी दुईवटा स्टाटस सार्वजनिक भइसक्दा समेत आक्रामक रूपमा सेन्सर बोर्ड खारेजीको बहस चलाइरहेकाहरूले कुनै जवाफ फर्काएका छैनन् । बोर्ड खारेजीको पक्षमा खुलेर लागेका एक चलचित्रकर्मी भन्छन्, ‘लामाजी उल्टो बग्दै हुनुहुन्छ ।’

यस सम्बन्धमा लामाको जवाफ छ, ‘खारेज हुनु ठुलो कुरा होइन तर यसले पार्ने प्रभावको मूल्य भने महंगो पर्छ, जो राष्ट्रले थेग्न सक्दैन, र थेग्न जरुरी पनि छैन ।’
अर्को प्रश्नको जवाफमा लामा प्रतिप्रश्न गर्छन्, ‘सेन्सरका कारण कसको सिर्जना काटिएको छ ? के यसैका कारण हाम्रो फिल्मको विकास रोकिएको छ ?’

तस्बिर – दिपेन्द्र रायमाझी

 

Logo