लघु चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनौट

लघु चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनौट


यौन उत्पीडनलाई बिषय बनाएर चलचित्र ‘कथा काठमाण्डु’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा छनौटमा परेको छ । यो चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो चलचित्र बाल यौन शोषणमाथि आधारित छ ।

यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो चलचित्र स्क्रिनिंग हुने भएको श्रेष्ठले बताईन् । सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो चलचित्रले बोल्छ ।

श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । यद्यपी पहिलो स्क्रिनिंग भने ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा हुने भएको हो ।

नौ मिनेट लामो चलचित्रमा भूमिका योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । निर्देशक श्रेष्ठ संचारकर्मी समेत हुन् । उनले एक फिचर फिल्म ‘कथा काठमाण्डु’ साथै सयौँ म्यूजिक भिडियोहरु, वृत्तचित्रहरु तथा लघु चलचित्रहरु निर्देशन गरेकी छन् ।

Logo