स्नातक शिक्षामा हटकेक– व्यवस्थापन

स्नातक शिक्षामा हटकेक– व्यवस्थापन


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ साउन ।

केही दशक अघिसम्म नेपाली समाजमा रेडिमेड मान्यता थियो, तगडा विद्यार्थीले विज्ञान नै पढ्नुपर्छ । विज्ञानमा आधार बनाएका विद्यार्थीका लागि चौतर्फी ढोका खुल्ला हुन्छ भन्ने सोचाइ व्याप्त थियो । तर, अहिले विज्ञानमा जति क्रेज छ, त्योभन्दा दोब्बर व्यवस्थापनमा छ । वर्तमान समयमा स्नातक शिक्षामा ‘हटकेक’ हो, व्यवस्थापन ।

व्यवस्थापन संकायमा पनि सर्वाधिक विद्यार्थीको झुकाव भएको कार्यक्रम हो, ब्याचलर्स इन बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) । काठमाडौंका दुई दर्जनभन्दा बढी कलेजमा बिबिए पढ्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले बिबिए कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

पोखरा विश्वविद्यालयले भने बिबिए–बिआई र बिबिए ट्राभल एन्ड टुरिजम कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

नेपाली शिक्षालाई ‘बेरोजगार उत्पादन गर्ने कारखाना’ भनिरहँदा यस्ता रोजगारमुखी विषयहरूमा स्वतः विद्यार्थीको आकर्षण बढ्ने गर्छ । बिबिएको अध्ययनपछि सोझै रोजगार बजारमा प्रवेश गर्न सकिन्छ । यसमा करियरका थुप्रै विकल्प छन् । ८ सेमेस्टर पढाइ हुने बिबिएमा सामूहिक छलफल, इन्टर्नसिप, प्रोजेक्टवर्क गराइन्छ । पढाइ सकेर जागिर गर्छु भन्नेका लागि मात्र होइन, आफै उद्यम गर्छु भन्नेका लागि पनि बिबिएले मार्गदर्शन दिन्छ ।

त्यसो त बिबिए मात्र होइन, व्यवस्थापनका अरू थुप्रै विषय छन्, जो समय सापेक्ष मानिएको छ । चाहे त्यो आइटी म्यानेजमेन्टको कुरा गरौं, वा हेल्थ केयर म्यानेजमेन्टकै । विगतमा के थियो भने, व्यवस्थापन पढेपछि वित्तीय क्षेत्रमै करियर बनाउनुपर्छ । बैंक एवं वित्तीय संस्थाको व्यवस्थापनमा यस्ता जनशक्ति खपत हुने सोचाइ थियो । तर, अहिले व्यवस्थापन कति फराकिलो र गहिरो छ भने त्यसभित्र अवसरका अनन्त ढोका खुला छन् ।

व्यवस्थापन पढेर बैंकिङ क्षेत्रमा मात्र होइन, स्वस्थ्य, प्रविधि, फेसन आदि जुनुसुकै क्षेत्रमा करिअर बनाउन सकिन्छ । अहिले नेपालको स्नातक शिक्षामा व्यवस्थापनका अनेक विषय उपलब्ध छन् । ब्याचलर अफ बिजनेस एडमिनेस्ट्रेसन इन बैंकिङ एन्ड इन्स्युरेन्स (बिबिए बिआई), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बिसिए), ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (बिसिआइएस), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम), ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम), ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट (बिएचसिएम हेल्थ केयर म्यानेजमेन्ट (एमएचसिएम), ब्याचलर इन कम्प्युटर इनफर्मेसन सिस्टम जस्ता अनेकन विषय व्यवस्थापनमा समेटिएका छन् ।

आइटीको क्रेज

सूचना तथा प्रविधिको विकाससँगै विश्व बजारमा यसमा विज्ञता हासिल गरेका जनशक्तिको माग बढेको छ । यसबाट अछुतो छैन, नेपाल पनि । प्रविधिमैत्री बन्दै गएको नेपालमा आइटी जनशक्तिको उच्च माग छ ।
हरेक कम्पनी, कर्पोरेट हाउस, कल–कारखाना सबैतिर आइटीमा सीप भएका जनशक्तिको खाँचो छ । त्यस्तै आउटसोर्सिङको व्यवसायले पनि यस किसिमको जनशक्ति खपत गरिहेको छ । यसरी चौतर्फी खुलेका रोजगारको अवसरले पनि आइटी शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो छ ।
कम्प्युटर एवं सूचना प्रविधिमा आधारित यस्ता विषयहरू छन्, जसमा रोजगारको पर्याप्त संभवाना छ । स्वदेशमा वा विदेशमा रोजगार गर्न आतुर तन्नेरीहरू सूचना प्रविधिमा सीप विकास गर्न चाहन्छन् । यसका लागि नेपालमा दर्जनौं कलेज छन् । ती कलेजहरूले सूचना–प्रविधिसम्बन्धी पठनपाठन गराइरहेका छन् ।
नेपालमा अहिले विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएका चार दर्जन इन्जिनियरिङ कलेज छन् । त्यहाँ सूचना प्रविधिसम्बन्धी विषय पनि अध्यापन गर्न सकिन्छ । कतिपय कलेज सूचना प्रविधिमै केन्द्रित छन् भने केही कलेजले अरू इन्जिनियरिङमा केन्द्रित हुँदै कम्प्युटर र सूचना प्रविधिका विभिन्न विषय अध्यापन गराउँछन् ।
ती कलेजहरूले स्नातक तहमा ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलजी (बिआइटी), ब्याचलर इन कम्प्युटर इन्फर्मेसन सिस्टम (बिसिआइएस), ब्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलजी (बिई–आइटी), ब्याचलर अफ साइन्स इन इन्फर्मेसन टेक्नोलजी (बिएस्सी–आइटी), ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बिसिए) लगायतका कोर्स चलाइरहेका छन् ।

मानविकीको आयाम र अवसर

कला, साहित्य, दर्शन, इतिहास, भूगोल, अर्थशास्त्र, इतिहास, धर्म, सभ्यता जस्ता अनन्त विषयको ज्ञात हुन मानविकी पढ्नैपर्छ । झट्ट हेर्दा पछिल्लो समय मानविकीमा विद्यार्थीको क्रेज घट्दो छ । यद्यपि यसको महत्व र आयाम निकै फराकिलो छ ।

अहिले पढ्नासाथ काम थालिहाल्नुपर्छ, जागिर खानुपर्छ भन्ने मान्यता बलियो बन्दै गएको छ । अर्थात, पढ्नुको अर्थ हो– जागिर खानु । कमाइ गर्नु । जीवनयापन गर्नु । बस्, यस्तै बुझाइ छ । तर, पढ्नु वा शिक्षा आर्जन गर्नु भनेको विज्ञता हासिल गर्नु हो । दक्षता र ज्ञान आर्जन गर्नु हो । यस्तै मान्यता राख्ने विद्यार्थीहरूको लागि राम्रो विकल्प हो, व्यवस्थापन ।

समाजशास्त्र, आमसंचार, जनसंख्या तथा वातारण, ग्रामीण विकास जस्ता आकर्षक विषयहरू मानविकीमा छन् ।

त्रिभुवन विश्वविद्यालयले मानविकी संकायअन्र्तगत पचासभन्दा बढी विषय अध्ययन गराउ“दै आएको छ । अंग्रेजी भाषा र साहित्य, अर्थशास्त्र, समाजशास्त्र, पत्रकारिता, जनसंख्या लगायत थुप्रै आकर्षक विषय त्रिविले समेटेको छ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत मानविकीमा बुद्धिष्ट स्टडिज, फाइन आर्ट्स, म्युजिक, मिडिया स्टडिज र स्नातकोत्तरमा हयुमन एन्ड नेचरल स्टडिज, म्युजिक, डेभलपमेन्ट स्टडिज, बुद्धिष्ट स्टडिजको कोर्स गराउ“दै आएको छ । स्कुल अफ आटर््स अन्तर्गत ह्युमन एन्ड नेचुरल स्टडिजमा विद्यावारिधी (पिएचडी) गर्न सकिन्छ ।
पूर्वाञ्चल विश्वविद्यालयअन्र्तगत मानविकीमा स्नातक तहमा मिडिया टेक्नोलोजी, जर्नालिज्म एन्ड मास कम्युनिकेसन, लिबरल आट्र्स एन्ड साइन्स, इन्टेरियर डिजाइन, सोसल वर्क विषय राखिएको छ । स्नातकोत्तर तहमा सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी, पपुलेसन म्यानेजमेन्ट एन्ड रुरल डेभलपमेन्ट, मास कम्युनिकेसन एन्ड जर्नालिज्म, रुरल डेभलपमेन्ट प्लानिङ एन्ड जनरल स्टडिज, रिजनल डेभलपमेन्ट प्लानिङ एन्ड म्यानेजमेन्ट, डेभलपमेन्ट कम्युनिकेसन, सोसियल वर्क, डेभलपमेन्ट स्टडिज विषय पढाइ हुन्छ ।

 

 

Logo