पोखरामा इक्यान शैक्षिक मेला शुरु

पोखरामा इक्यान शैक्षिक मेला शुरु


पोखरा, २७ साउन । नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आजदेखि यहाँ पाँचदिने बृहत् इक्यान शैक्षिक मेला शुरु भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) द्वारा पोखरा सभागृहमा आयोजित मेलामा ‘विदेशमा पढाइ हुने कोर्ष, विभिन्न देशको राहदानी नीतिका बारेमा विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर जानकारी गराइनेछ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सो मेलाको उद्घाटन गर्दै शीप र क्षमता हुने प्रतिभावान् युवालाई कसैले पनि रोक्न नसक्ने बताए ।

उच्च शिक्षाका लागि विद्यार्थी विदेश जाने र पुनः स्वदेशमा आएर शिक्षाको उपयोग गर्दै देशको विकासमा जुट्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “बौद्धिक जनशक्ति विदेशिनुबाट रोक्न राज्यको नीति आवश्यक छ ।”

स्वदेशदेखि विदेशका शैक्षिक परामर्शदाता र कलेजका प्रतिनिधि सहभागी भएको मेला शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त परामर्शदाताका ६५ वटा कक्ष रहेको संयोजक एवं इक्यान कास्कीका उपाध्यक्ष रमेशकुमार थापाले जानकारी दिए ।

आइइएलटिएस परीक्षा लिने आइडिपी अस्ट्रेलिया र ब्रिटिस काउन्सिलका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष सल्लाह लिन पाउने मेलामा ‘अमेरिका, बेलायत, न्युजिल्याण्ड, अस्ट्रेलिया, आयरल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीनलगायत देशका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको सहभागिता रहेको छ ।

मेलामा क्विन्स फोर्ड कलेज, नर्स ट्रेनिङ अस्ट्रेलिया, सिड्नी मेट्रो कलेज र प्यासिफिक कलेज अफ टेक्नोलोजीको विशेष सहभागिता रहेको बताए ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय कार्यवाहक अध्यक्ष निरज सिटौला, द्वितीय उपाध्यक्ष विष्णुहरि पाण्डे, महासचिव सन्तोष प्याकुरेल लगायतले नेपाललाई आइटी शिक्षाको हब बनाएर विदेशी विद्यार्थीलाई आकर्षण गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । रासस

Logo