गाउँ-गाउँमा होइन झोलामै सिंहदरबार

गाउँ-गाउँमा होइन झोलामै सिंहदरबार


जाजरकोट : त्रिवेणी नलगाड नगरपालिका–८ का वडाध्यक्ष गोविन्द शाहीले झोलाबाटै वडाको काम चलाउँदै आएका छन् । वडा कार्यालय नहुँदा झोलाबाटै कार्यालयको काम गर्नुपरेको अध्यक्ष शाहीले बताए ।

‘वडा कार्यालय सञ्चालन गर्न कुनै व्यवस्था नभएकाले नागरिकको काम झोला बोकेर भए पनि गर्ने गरेको छु’, उनले भने, ‘निर्वाचनका बेला गाउँबाट सिंहदरबारको काम हुन्छ भनियो, अहिले आफैंले सिंहदरबार झोलामा हालेर घुमाउनुपरेको छ ।’ शाहीको जस्तै हविगत यहाँका सबैजसो जनप्रतिनिधिहरूको छ । आजको राजधानी राष्ट्रिय दैनिकमा समाचार छ । 

‘नागरिकले सबै काम वडाबाटै हुनुपर्छ भन्छन्’, बारकोट गाउँपालिका–२ का वडाध्यक्ष टिकाराम नेपालीले भने, ‘तर अहिलेसम्म केही गर्न सकिएको छैन ।’ ‘गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा त पुग्यो’, त्रिवेणी नलगाड  नगरपालिकाका प्रमुख टेकबहादुर रावलले भने, ‘तर आहरा पुर्‍याउन सकिएको छैन ।’

संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि स्थानीय तहलाई भने हातखुट्टा बाँधेकोजस्तो अनुभूति भएको रावलको भनाइ छ । जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार विकास, सञ्चार सुविधा र बैंकिङ कारोबार नभएसम्म गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा व्यंग्यमै सिमित हुने बारकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको बुझाइ छ । उनी भन्छन्, नागरिकमा ठूलो आशा छ तर, हामी आधारभूत सेवा प्रवाहमै चुकिरहेका छौं ।  

Logo