पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो

पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो


इटहरी, २४ साउन । पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ । 

यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । 

धनकुटा जिल्लामै अन्य तीन जना बिरामीमा पनि यो रोगको जीवाणु देखा परेपछि जिल्लाभर सर्वसाधारणमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ । खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका तथा पाख्रिबास नगरपालिका क्षेत्रमा यो रोग देखापरेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । 

स्क्रब टाइफस रोगबाट धनकुटाको साविक छिन्ताङ–२ की ८ वर्षीया बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तीन दिनअघि ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा नारायण भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार धनकुटाकै पाख्रिबास क्षेत्रमा अहिलेसम्म तीन जनामा स्क्रब टाइफस रोग देखा परिसकेको उपचारका क्रममा पत्ता लागेको छ । 

धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका दुई बालक र एक बालिकामा यो रोगको लक्षण पाइएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट तथा जिल्ला स्वास्थ्य प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । 

स्क्रब टाइफसको लक्षण देखा परेका सबै बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइएको र उनीहरुको उच्च सतर्कताका साथ उपचार भइरहेको पनि प्रतिष्ठानले जानकारी दिएको छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यो रोगबाट उनीहरु बढी प्रभावित हुने खतरा रहने बताइएको छ । 

मुसामा हुने किर्नाले मानिसलाई टोकेपछि उक्त रोग सर्ने प्रतिष्ठानका प्रवक्ता डा भट्टराईले बताउनुभयो । अत्यधिक ज्वरो आउने, श्वासप्रश्वासको समस्या जस्ता लक्षण देखिएमा तत्काल चिकित्सकसँग सम्पर्क गर्न र अस्पतालमा उपचारार्थ आउने पनि प्रतिष्ठानले सूचित गरेको छ । 

स्क्रब टाइफस र स्वाइनफ्लुबाट संक्रमित हुने रोगी झापा र तराईका अन्य जिल्लामा पनि फैलन सक्ने खतरा रहेका जनाउँदै प्रतिष्ठानले उच्च सतर्कता अपनाउन सबैसँग अपिल गरेको छ । रासस 

Logo