पर्वतको आरन व्यवसायलाई आधुनिकिकरण गरिँदै

पर्वतको आरन व्यवसायलाई आधुनिकिकरण गरिँदै


फलेवास (पर्वत), २४ साउन । कुश्मा नगरपालिका– १२ ठूलीपोखरीको विश्वकर्मा समुदाय पुख्र्यौली आरन व्यवसायलाई आधुनिकिकरण गर्ने अभियानमा जुटेको छ । 

बाबुबाजेको पालादेखि गर्दै आएको आरन व्यसायलाई सुधार गरी छोटो समयमा धेरै औजार बनाउनतर्फ उनीहरु जुटेका छन् । घरेलु तथा साना उद्योग विकास समिति र कुश्मा नगरपालिका– १२ को संयुक्त आयोजनामा दश दिने आरन सुधार सम्बन्धी तालिम दिएपछि उनीहरु आफ्नो व्यवसायलाई आधुनिकिकरण गर्न थालेका हुन् । 

दाउराको गोल बनाएर हँसिया, बाउसा, फाली, कोदालीलगायत सामग्री बनाउँदै आएको विश्वकर्मा समुदाय अहिले मेसिनको सहायताले छोटो समयमै धेरै औजार बनाउनसक्ने भएको छ । करिब पाँच दशकदेखि आरनको काम गर्दै आएका स्थानीयवासी सन्तबहादुर विक तालीमले युवा पुस्ता आरन पेशातर्फ आकर्षित भएको बताउनुहुन्छ । यहाँका आरन व्यवसायी बाली प्रथामा निर्भर छन् । 

विश्वकर्मा समुदायले वर्षभरी अन्य समुदायका लागि आवश्यक भाँडाकुडा बनाइदिने र त्यसबापत निश्चित रुपमा अन्नपात माग्ने गरेका छन् । समय धेरै परिवर्तनशील भइसकेको भएपनि आफूहरुको व्यवसायमा खासै परिवर्तन आउन नसकेको उनीहरुको गुनासो छ । दश दिनसम्म दिइएको तालीममा सहभागीलाई घरायसी सामग्री बनाउने तरिका, आधुनिक आरन निर्माण, कच्चा पदार्थको उपयोगका बारेमा जानकारी गराइएको थियो । 

तालिमपछि परम्परागत व्यवसायलाई आधुनिकता दिन र नयाँ प्रविधिको प्रयोग गरी फलाम, तामाका भाँडा निर्माण गर्न सहज भएको आरन पेशामा आवद्ध व्यवसायी मिठु विश्वकर्माले बताउनुभयो । रासस 

Logo