प्रवीण इन्काउन्टर प्रकरण : प्रहरीले अन्याय गरेको मृतकका बाबुको भनाइ

प्रवीण इन्काउन्टर प्रकरण : प्रहरीले अन्याय गरेको मृतकका बाबुको भनाइ


काठमाडौं : प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ । उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेर्स्याउँदै उनी भाग्ने प्रयासमा थिए । पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ ।

परिवारका सदस्यले प्रहरीले गोली हानेर मारेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

खत्री लागुऔषध कारोबारी भएको र उनले स्थानीयलाई पेस्तोल देखाएर धम्क्याउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनलाई पक्राउ गर्न गएको थियो ।

आफूलाई पक्राउ गर्न प्रहरी आएको देखेपछि उनले माथिल्लो तलाबाट घरपछाडिको चौरमा हाम फालेका थिए । दुई हातमा दुईवटा पेस्तोल लिएर प्रहरीलाई नै ताक्दै भागेका थिए । प्रहरीले उनलाई गोली हान्दै लखेटेको थियो ।

पेस्तोल छाड्न भन्दा नमानेपछि प्रहरीले उनलाई गोली हानेको परिवारका आफन्तले बताएका छन् । उनको दायाँ कन्चटमा गोली लागेको छ ।

घरमा सिसिटिभी 

खत्री कुसन्तीस्थित आफ्नै घरमा ढोका लगाएर बसिरहेका थिए । महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोली दिउँसो करिब २ बजे उनलाई पक्राउ गर्न पुगेको थियो । ढोकामा प्रहरी आएको उनले सिसिटिभीबाट देखे । हालै मात्र प्रहरी हिरासतबाट छुटेका उनले पक्राउ पर्ने डरले धेरै समयसम्म ढोका खोलेनन् ।

पछि, दुई हातमा दुईवटा पेस्तोल प्रहरीलाई तेस्र्याउँदै घरको पछाडि हाम फालेका थिए । प्रहरीले आफूलाई गोली हान्ने ठानेर उनी आफैँले गोली हानेको प्रहरीको दाबी छ । गोलीबाट ढलेपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याउँदासम्म उनको बाटैमा मृत्यु भइसकेको थियो । मृतकका आफन्तले घटनाको छानबिन गरी दोषी प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।

गोलीले उनको कन्चट छेडेको छ । उनले दुई गोली फायर गरेकोमा एक मिसफायर भएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीको दुईथरी भनाइ ‘शंकास्पद’

प्रहरीले सुरुमा ‘इन्काउन्टर’मै खत्रीको मृत्यु भएको बताएको थियो । तर, पछि विवाद आउने देखेपछि खत्री आफैँले गोली हानेको प्रहरीको दाबी छ । एउटै घटनामा दुईथरी भनाइ आएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो । चर्चा कमाउन जथाभावी गोली हान्ने प्रवृत्तिको उपज सोमबारको घटना भएको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

गोलीको खोका उनी ढलेकै ठाउँमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अत्याचार गर्‍यो : मृतकका बाबु

मृतकका बाबु प्रवीणबाबु खत्रीले प्रहरीकै गोलीबाट छोराको मृत्यु भएको बताए । ‘यो प्रहरीको अत्याचार हो,’ उनले भने, ‘अपराध गरेको भए, पक्राउ गरेर कारबाही गर्ने हो, मार्न पाइँदैन ।’ घटनापछि स्थानीयवासी प्रहरीसँग आक्रोशित भएका थिए । घटनास्थलमा सशस्त्र प्रहरीसमेत खटाइयो । ‘फायर त हामीले पनि खोलेका थियौँ, तर हाम्रो गोली उसलाई लागेको होइन, ऊ आफैँले हानेको भन्ने छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘कसको गोली लागेको हो, त्यो त विधि विज्ञान प्रयोगशालाबाट प्रस्ट भइहाल्छ ।’

राजधानीमा प्रहरीको इन्काउन्टर शृंखला

पछिल्ला वर्ष काठमाडौं उपत्यकामा प्रहरीले गोली चलाउनु सामान्यजस्तै हुन थालेको छ । चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीले गोली हानेको छ । ३ भदौ ०७१ मा गुन्डानाइके कुमार घैँटे (कुमार श्रेष्ठ) प्रहरी मुठभेडमा मारिएका थिए । कपुरधारास्थित आफ्नै घरअगाडि अपराध महाशाखाका प्रहरीले उनीमाथि गोली हानेका थिए । २१ साउन ०७० मा राजधानीका अर्का गुन्डानाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको गोलीबाट मारिएका थिए । अपराध महाशाखाकै टोलीले भीमढुंगामा उनीमाथि गोली हानेको थियो ।

तराईका जिल्लामा अपराधीहरू पटक–पटक प्रहरी मुठभेडमा मारिने गरेका छन् । राजधानीमा भने ‘इन्काउन्टर’मा हालसम्म तीनजना मारिएका छन् । प्रहरीले गोली हानी घाइते बनाएर धेरैलाई पक्राउ गरेको छ । १३ मंसिर ०७१ मा सुन्धाराको लुम्बिनी पाहुना घरबाट गोली हानी प्रहरीले फरार अभियुक्त छोटेलाल ठाकुरलाई पक्राउ गरेको थियो । ९ असार ०७२ मा प्रहरीले बबरमहलमा गोली हानी गुन्डागर्दीमा लागेका जसवन्त सिंहलाई पक्राउ गर्‍यो ।

गत वर्ष १९ असारमा सुन्धाराको बेबिलोन डिस्कोमा गोली हानी प्रहरीले फरार कैदी रावणजित लामालाई पक्राउ गरेको थियो । गत २१ फागुनमा पनि स्वयम्भूमा अपहरणकारीलाई गोली हानी प्रहरीले पक्राउ गरेको थियो । नुवाकोटका तीन युवकलाई अपहरण गरी फिरौती माग्ने दुर्गा तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको थियो । त्यस्तै, गत वर्ष २३ पुसमा गोंगबुमा चोरीका अभियुक्त अमृत बयलकोटीलाई गोली हानी घाइते बनाएर पक्राउ गरेको थियो । कतिपय अवस्थामा प्रहरीले आवश्यकताले नै गोली हान्ने गरेको छ भने केही अवस्थामा सनकका भरमा गोली चलाउने गरेको छ ।

Logo