जाजरकोट-डोल्पा सडक पहिरोले अवरुद्ध

जाजरकोट-डोल्पा सडक पहिरोले अवरुद्ध


जाजरकोट, २३ साउन ।

जाजरकोट- डोल्पा सडकखण्डको खलंगादेखि डोल्पाको सिमानामा त्रिवेणी सम्मको यातायात सेवा अवरुद्ध भएको छ । करिब ७० किमी सडकखण्डभित्र चल्ने सबै खालका यातायातका साधन अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । 

खलंगा रिम्ना, छेपारे राडी, वगारा तल्लु र तल्लु त्रिवेणी सम्मको यातायात सेवा अवरुद्धसँगै यस क्षेत्रका यात्रु गन्तव्यमा पुग्न निकै मुस्किल भएको छ । डोल्पा पुग्नका लागि एक मात्र यो रुट रहेको छ । अहिले डोल्पामा हवाई सेवासमेत प्रभावित भएको छ । भत्किएको कच्ची सडक र भिरालो भूबनोटका कारण तत्काल मर्मत कार्य हुन सकेको छैन ।

बीच बीचमा ठूला–ठूला खोला र भेरी नदीमा पुल नभएका कारण थप यातायात सञ्चालनमा चुनौती थपिएको हो । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि सञ्चालनमा आएका यातायातका साधन अहिले खोला बढेसँगै ठप्प भएको बताइएको छ । कतै छिट्पुट रुपमा बीच बीचमा सञ्चालनमा आए पनि मोटो रकम असुल्दै यात्रु ओसार पसार कार्य भइहेको यात्रुको भनाइ छ । 

त्यस्तै, जाजरकोट जुम्ला सडकखण्डभित्र पर्ने खलंगा पाँचकाटिया सडकमा यातायात सेवा अवरुद्ध भएको छ । वाँकेखोेला, रिटाखोला, पिपलचौरखोला, वगारा, सपनेखेत, वडाखोला, कार्यखेत, तात्राखोला, तासुगाड खोलामा पानीको सतह बढेपछि पुल नहुँदा समस्या भएको छ ।

 त्यस्तै, दर्जनौँ ठाउँमा सडकको बीच बीचमा पहिरोले सडक भाँसिएका कारण यातायात सञ्चालनमा आउन नसकेको हो । कुदु जगतिपुर हुँदै कार्कीगाउँसम्म चल्ने मध्यपहाडी लोकमार्गमा यातायात सेवा ठप्प भएको छ । मोर्क खोलामा ठेकेदारको लापरबाहीका कारण ५ वर्षदेखि पुल नबन्दा यहाँको यातायात सञ्चालन गर्न सकिएको छैन ।

अहिले मोर्क खोलामा पनि पानी बढेका कारण स्थानीयवासी वारापार गर्न नै समस्या परेको स्थानीयवासी पूर्णबहादुर महतराले बताउनुभयो । 

क्षति भएको ठाउँमा राहत र पुल निर्माण गर्ने जिल्ला समन्वय समितिको निर्णय 

बाढीपहिरोको कारण ठाउँ ठाउँमा क्षति भएपछि आइतबार बसेको जिल्ला समन्वय समितिको बैठकले राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको समितिका संयोजक मनबहादुर रावलले बताउनुभयो । त्रिवेणी नलगाड नगरपालिकाको अ‍ैरारीमा काठेपुल बगाएका कारण तत्काल त्यहाँ पुल निर्माणका लागि पहल गर्ने निर्णय भएको छ । रासस 

 

Logo