राष्ट्रपतिको पनि छ ‘किचन क्याबिनेट’

राष्ट्रपतिको पनि छ ‘किचन क्याबिनेट’


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ साउन ।

सांसद र नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष पदबाट जुरुक्क उठेर राष्ट्रपति भएदेखि नै विद्या भण्डारीको दैनिकी फेरिएको हो । राष्ट्रप्रमुखलाई दिइने सम्पूर्ण सुविधा र सुरक्षाभित्र उनी पसेकी छन् । यस्ती भएकी छन् मानौं उनी गणतन्त्रकी महारानी हुन् ।

अधिकार कम भएको मात्र हो, राष्ट्रप्रमुखको कार्यभारले भने उनी सधैं नै व्यस्त भइरहन्छिन् । भेटघाट र परामर्शहरू त झन् चलि नै रहन्छ । हरेक बिहीबार प्रधानमन्त्री भेट्न जाने र मुलुकको नियमित कामको ‘ब्रिफिङ’ गर्नुपर्ने चलन छ । सांस्कृतिक राजाको भूमिका पनि उनकै टाउकोमा छ ।

राष्ट्रपतिका लागि आवश्यक सल्लाहकार, सहयोगी र हर्ताकर्ता उनले नियुक्त गरिसकेकी छन् । यो स्टोरी ती औपचारिक नियुक्तिहरूको होइन, अनौपचारिक वा किचन–क्याबिनेटमा बसेर सल्लाह बाँड्नेहरूको हो, जो जसमा स्वयं राष्ट्रपतिलाई पनि विश्वास र आवश्यकता महसुस छ ।

राष्ट्रपतिका प्रमुख सल्लाहकार को हुन् ? सरोकार राख्ने जो कोहीबाट आउने जवाफ हो, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । राष्ट्रपतिका एकजना सहयोगीका अनुसार ओली सातामा दुई पटक जति राष्ट्रपति निवास पुग्छन्–पुग्छन् ।

राष्ट्रपति एमाले पार्टी र सोही पार्टीको नेताका सल्लाहमा सीमित हुनहुँदैन । तर अभ्यस्त नभइसकेकाले हुनुपर्छ, उनीकहाँ एमालेबाहेकका अन्य पार्टीका नेता पुग्दैनन् । मुलुक अप्ठेरोमा पर्दा राष्ट्रपतिको अविभावकीय भूमिका आवश्यक पर्छ । दलहरूले बाटो बिर्से भने सिठी फुक्ने काम पनि उनकै हो । त्यसका लागि स्वतन्त्र सोच–विचार गर्नु जरुरी हुन्छ । एमाले नेता र पार्टीले राष्ट्रपतिलाई यस ठाउँमा स्वतन्त्र हुन दिनुपर्छ, प्रथम राष्ट्रपतिलाई कांग्रेसले छोडिदिए जस्तो ।

केपी ओलीपछि राष्ट्रपति निवास गइरहनेमा एमालेका तीन युवा नेताहरू पर्छन्– शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराई । यिनीहरू राष्ट्रपति भण्डारीका विश्वासपात्र हुन् । नियमित सल्लाह दिने यी तीनबाहेक दुई छोरीहरू पनि सल्लाहकार भइसकेका छन् । त्यसमा पनि जेठी छोरी उषाकिरण भण्डारीको रुचि र ज्ञान पनि राजनीति नै भएकाले धेरै विषयमा उनीसँग सल्लाह हुने गरेको शीतल निवास स्रोत बताउँछ ।

एमालेका आम कार्यकर्ताहरू राष्ट्रपतिसँग भेटेर फोटो खिँचाउन लालायित हुन्छन् । एमालेका काठमाडौं जिल्ला अध्यक्ष र सदस्यहरू पनि बरोबर भेट्न जानेमा पर्छन् ।

तर, यी सल्लाहकारले के सल्लाह दिन्छन् भन्ने प्रश्नको जवाफ चाहिँ कसैसँग छैन । पहिलो कम्युनिस्ट राष्ट्रपतिको बिल्ला भिरेपछि काम पनि त्यही अनुसार भइदिएको भए सल्लाहकार हुनुको अर्थ लाग्थ्यो पनि होला । उस्तै सुरक्षा पोज, सवारी हुँदा जनतालाई उस्तै सास्ती, उस्तै खोपीको देउता बनाइरहने प्रयास आदिले सल्लाहकारहरूको भूमिकामा प्रश्न चिन्ह चाहिँ छ नै ।

खासमा राष्ट्रपति सेना र सिसी टिभीको निगरानीमा नै हुन्छिन् । कोठाभित्र बाहेक उनका सबै दैनिकी सार्वजनिक हुनसक्छन् । र, उनलाई भेट्नेहरूको फेहरिस्त पनि सुरक्षा निकायले राखिरहेको हुन्छ । सार्वजनिक जीवन जस्तै हो, राष्ट्रपतिको पनि ।

त्यसकारण पौने तीन करोड नेपालीकै राष्ट्रपति हुनका लागि उनले पार्टी र पुराना सम्बन्धबाट माथि उठ्न सक्नुपर्छ । उनका लागि स्वतन्त्र विज्ञहरूको कमी हुने छैन । ‘किचन क्याबिनेट’ आवश्यक हुन्छ तर यसैको भरमा भने बस्नु हुँदैन ।

अनौपचारिक
केपी शर्मा ओली (प्रमुख सल्लाहकार)
भानुभक्त ढकाल
शेरधन राई
डा. राजन भट्टराई
उषाकिरण भण्डारी (जेठी छोरी)

औपचारिक
एकै पटक नियुक्त ६ सल्लाहकार
धनहर्क राई (होमटाङ–८, भोजपुर)
सुशील प्याकुरेल (कलङ्की, काठमाडौं)
डा. मदनकुमार भट्टराई (कालिकास्थान, काठमाडौं)
डा. मीना आचार्य (कामपा–१०, बानेश्वर काठमाडौं)
जगन्नाथ महासेठ (जनकपुर–९ धनुषा)
माधव शर्मा (पोखरा–७, कास्की)

सचिवालयमा
भेषराज अधिकारी
नवराज गौतम
शिव भट्टराई

 

 

 

 

Logo