प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट पास गराउन खोज्दा फन्दामा

प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट पास गराउन खोज्दा फन्दामा


काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ। 

विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए । मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए ।

उनीसँगै आएका कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छिन् । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए । सुन तस्करी हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीनैजना विमानस्थलको अराइभलस्थित शौचालयबाट पक्राउ परेका हुन् ।

शौचालयबाट सुन पास गराउन खोज्दा फन्दामा प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए । उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किए । पक्राउ परेका रजालीले मानन्धरमार्फत आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । रजाली र सई मानन्धरबीच पटक पटक फोनमा कुरा भएको थियो । सशस्त्रका सईले धेरै पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन् ।

रजाली पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका थिए । सुन तस्करीकै लागि उनी पटक पटक विदेश जाने गरेको प्रहरीको आशंका छ । उनले सो सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बताएका थिए ।

विमानस्थलमा कार्यरत प्रहरीलाई चेकिङ नहुने भएकाले शौचालयबाट सामान बाहिरसम्म पास गरिँदै आएको थियो । विमानस्थलबाट प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा पटक पटक सुन तस्करी हुँदै आएको बाहिर आइसकेको छ । गत २१ पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले साढे ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी र भन्सारका कर्मचारीकै मिलेमतोमा दुई वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको थियो । सिआईबीले एसएसपी श्याम खत्री तथा भन्सारका कर्मचारीलाई समेत पक्राउ गरी मुद्दा चलाएको थियो । यसपटक भने सशस्त्र प्रहरीको मिलमतोमा सुन तस्करी हुँदै आएको खुलेको छ ।

Logo