रियल विरुद्ध बार्सीलोना विजयी, मेसीको सुन्दर गोल

रियल विरुद्ध बार्सीलोना विजयी, मेसीको सुन्दर गोल


नेमार पेरिस सेन्ट जर्माइन जाने हल्लो यतिबेला बार्सीलोनाको टिममा निराशा छाएको छ । तर उनी गइहालेमा पनि बार्सीलोना कमजोर हुँदैन भन्ने लियोनल मेसीको प्रदर्शनले प्रमाणित गरेको छ । मेसी फर्ममा रहेका बेला बार्सीलोनाले जसलाई पनि हराउन सक्छ भन्ने पुष्टि चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड विरुद्धको खेलपछि भयो ।
रियल म्याड्रिड विरुद्ध मियामीमा भएको प्रिसिजन टुरको खेलमा नेमार पनि टिममा थिए । उनले इभान राकिटिक र जेरार्ड पिकेका लागि गोलको अवसर सिर्जना गरिदिए । तर खासमा दिन मेसीको थियो । नेमार गोलका थुप्रै मौकामा चुकेपनि मेसीले परिपक्वता देखाए । उनले गोलका लागि सहकर्मी साथीहरुलाई निरन्तर अवसर उपलब्ध गराइरहे ।
मेसी रियलका ५ डिफेन्डर र गोलकिर केइलर नाभास समेतलाई छक्याउँदै तेस्रो मिनेटमा सुन्दर गोल गरेर बार्सीलोनालाई अग्रता दिलाए । त्यसपछि इभान राकिटिकले बार्सीलोनालाई २–० को अग्रता दिलाए ।

माटियो कोभाकिक र मार्को एसेन्सियोले गोल फर्काएपछि रियल २–२ को स्थितीमा पुगे । त्यसपछि जेरार्ड पिकेले नेमारको पासमा गोल गर्दै बार्सीलोनालाई विजयी बनाए । खेलमा रियल म्याड्रिड स्टार खेलाडी रोनाल्डो बिना नै उत्रिएको थियो । 

नेमारका लागि पेरिस सेन्ट जर्माइनले २ सय २२ मिलियन युरोको विश्वकिर्तिमानी स्थानान्तरणको प्रस्ताव पेश गरिसकेका छन् । उनी पिएसजी जाने प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ । यद्यपी टोलीका खेलाडी तथा प्रशिक्षकले उनलाई पिएसजी नजान सुझाव दिदैं आएका छन् । 

 

Logo