भरतपुर मुद्दाको सुनुवाइ पुनः सुरु, आज के होला

भरतपुर मुद्दाको सुनुवाइ पुनः सुरु, आज के होला


केन्द्रबिन्दु डेस्क । काठमाडौं, १२ साउन ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणना भइरहेकै बेला मतपत्र च्यातिएपछिको विवादसम्बन्धी मुद्दामा आज पुनः सर्वोच्चमा बहस भइरहेको छ ।

आजको सुनुवाइमा सरकारी वकिलले बहस गर्दैछन् । यसअघि सोमबार रिट निवेदक पक्षका वकिलको बहस सकिएर सरकारी वकिलले बहस थालेका थिए ।

जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा पुनः मतदान वा मतगणना भन्ने ट्ंगो गरेर अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म हुन सकेको छैन । अन्तरकालीन आदेशबाट पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय भने रोकिएको छ ।

यसअघि रिट निवेदकका पक्षमा १५ जना वकिलले बहस गरेपछि सोमबार सरकारका तर्फबाट महान्याधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका थिए । उनको बहस नसकिँदै समय सकिएपछि सुनुवाइ आजका लागि सारिएको थियो ।

साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालीन आदेशले निरन्तरता पाउने वा नपाउने निश्कर्षमा पुगेको छैन ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको छ। बिहीबार पनि मुद्दाको सुनुवाइ निरन्तर छ ।

बिहीबार सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहसलाई निरन्तरता दिनेछन् । यस्तै निर्वाचन आयोगका तर्फबाट उपस्थित कानुन व्यवसायीको बहस पनि बाँकी छ। सरकारी वकिल र आयोगका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षलाई जवाफका लागि संक्षित बसहको समय दिइनेछ ।

सरकारी वकिल र आयोगका तर्फबाट उपस्थित कानुन व्यवसायीको बहस व्यवस्थापन भएमा भरतपुर प्रकरणले आज निकास पाउने सम्भावना छ। तर, संयुक्त इजलासका न्यायाधीशबीच राय नमिलेको अवस्थामा मुद्दा पुनः लम्विनेछ ।

भरतपुरमा मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको थियो। कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो। माओवादीहरुले १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातेका हुन्। त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो।

यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो। १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो। आइतबार राति १२ बजेसम्ममा उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन।

Logo