महिलाको महिनावारीबारे पुरुषले जान्नैपर्ने कुरा

डा. कल्यान ।

पीएमएस भनेको के हो ?

पीएमएस अर्थात प्रि–मिन्सुरल सिन्ड्रोम (Pre-Menstrual Syndrome) भनेको महिलाहरुमा महिनावारी हुनु भन्दा करिब १०–१४ दिन अगाडि देखि हुने विभिन्न लक्षणहरुको समुह हो । उक्त लक्षण महिनावारी सुरु भए लगत्तै कम हुँदै जान्छ र ४–५ दिन भित्र पुर्ण रुपमा निको हुन्छ । कम्तिमा ८५ प्रतिशत महिलाले जीवनमा एक पटक यस्ता समस्या भोगेका हुन्छन् । सबै महिलाहरुको ठ्याक्कै एकै किसिमको भोगाई भने हुँदैन् ।

यसको लक्षणहरु के-के हुन् ?
–टाउको, ढाड, पेट, स्तन, मांसपेशी, हाडजोर्नी दुख्ने र शरिर निकै थाकेको महसुस हुने ।
–निन्द्रा पर्न गाह्रो हुने वा बढी लाग्ने (निन्द्राको समय बदलिनु) ।
–भोक जगाईमा परिवर्तन हुनु, पेट गडबडी हुनु (कब्जियत, पखाला, ग्याँसले पेट भरिनु) ।
–छिटोछिटो मन परिवर्तन हुने, बेलाबेला झनक्क रिस उठ्ने, झट्टै सानो कुरामा रोइदिने, कसैसँग बोल्न मन नलाग्ने, दिमागमा तनाव बढेजस्तो लाग्ने ।
–अरुबेला सधैं मनपर्ने कामकुरा गर्न यो बेला मन नलाग्ने । आत्तिए जस्तो लाग्ने, उदासिन हुने (चिन्ता, डिप्रेसन, मनमा घबराहट हुने)
– अनुहारमा फोकाफोकी निस्कनु र अन्य लक्षणहरु पनि हुन सक्छ ।

पीएमएस र पीएमडीडी मा के फरक छ ?
पीएमडीडी (Pre-Menstrual Dysphoric Disorder) समस्या करिब ५ देखि १० प्रतिशत महिलामा मात्र हुने गर्छ । पीएमडीडी भएका महिलाहरुमा सुरु सुरुमा पीएमएस हुँदा जस्तै सामान्य लक्षणहरु नै हुने गर्छ ।

पछि गएर ति लक्षणहरु निकै कडा वा सहनै नसकिने खालको हुनेगर्छ । पीएमडीडीमा दुखाई भन्दा पनि मानसिक तनावले बढी सताउँछ । यो समस्या निकै कम महिलालाई हुने र बाहिरबाट देखिने समस्या पीएमएस जस्तै हुने हुँदा कतिपय समयमा महिलाले महिलाकै समस्या बुझ्न सक्दैनन् ।

पीएमएस हुँदा शरिरको हर्मोनमा अस्थिरता हुने गर्छ । जसले गर्दा दिमागको केहि न्युरोट्रान्समिटरमा केहि समयको लागि परिवर्तन हुन्छ तर अन्य गम्भीर असर त्यति धेरै हुँदैन् । सामान्य नदुख्ने औषधी, आराम, व्यायाम र खानाम केहि परिवर्तन ग¥यो भने सामान्यतया खासै ठुलो समस्या हुँदैन् तर पीएमडीडीको कारण भने परिवार, काम र अन्य ठाउँमा निकै समस्या आउन सक्छ । यसै कारण यो समस्या महिलाले भन्दा पुरुषले बढी ध्यान दिनु जरुरी हुन्छ ।

पीएमडीडी भएको बेला पुरुषले ध्यान दिनुपर्ने कुरा:
–यो बेला महिला (छोरी, श्रीमती, सहकर्मी) सँग झगडा नगरेकै राम्रो हुन्छ । यो बेलामा उनीहरु सामान्य दिन भन्दा सय गुणा बढि भावुक हुने गर्दछन् । निकै सानो कुरामा पनि निउँ खोज्ने र झगडा गर्न पछि नपर्ने हुन्छन् । यसबेला उनीहरु झगडा पछिको परिणामको वास्ता नै गर्दैनन् ।

उनीहरुले चाहेर जा जानी जानी यसो गरेका होइनन् र उनीहरुले जति प्रयास गरेपनि रिस थाम्न सक्दैनन् । महिनावारी चक्रका कारण हुने नियमित हर्मोनल परिवर्तन मात्र नभई यो बेला दिमागमा सेरोटोनिन न्युरो–ट्रान्समिसनमा समेत असन्तुलन भएको हुन्छ ।
–यहि सेरोटोनिन न्युरो–ट्रान्समिसनमा हुने असन्तुलनको कारण हुने गर्दछ । गाम्मा एमिनोवर्टिक एसिड (गाबा) र बी इन्ड्रोफिनको पनि केहि भुमिका रहेको मानिन्छ ।
–करिब दुई हप्ता निकै उदासिन भएको जस्तो हुन्छ । केहि काम गर्न नखोज्ने, कसैमा पनि रुचि नदेखाउने, कतै हराएको जस्तो हुने गर्छन् ।

पीएमडीडी भएको बेला देखिने लक्षणहरु के हुन् ?
यस्तो बेलामा पीएमडीडी भएका महिलाहरुलाई राम्रोसँग सोचेर जटिल कुराको निर्णय लिन निकै गाह्रो हुन्छ । पीएमडीडी भएको बेला सहि लागेका कुराहरु पनि आफैले गलत निर्णय गरेछु भन्ने महसुुस हुन्छ । त्यसैले जीवनका ठुला निर्णयहरु जसले परिवार वा भविष्यमा असर पार्ने कुराको छलफल र निर्णय यो बेलामा नगर्नु नै राम्रो हुन्छ ।

पीएमडीडी लागेका महिलाहरु कुन बेला कुन मुडमा हुन्छन् भन्ने कुरा पत्ता लगाउनु निकै गाह्रो हुन्छ । आफूसँगै काम गर्ने सहकर्मी महिलामा पीएमडीडी भएको पाईयो भने त्यहाँ काम गर्न सम्पूर्ण कामदारकै दिन खराब नहोला भन्न सकिन्न । त्यसैले यस्तो बेलामा पीएमडीडी महिलाको समस्या बुझेर उसको कामको बोझ कम गर्ने र अझ सकिन्छ भने उसलाई आराम गर्न लगाउनु नै उचित हुन्छ ।

केहि केहि महिलालाई झन् आफू यस्तो बेलामा निकै नराम्री लाग्ने, ऐना हेर्न मन नलाग्ने र कतिपयलाई त ऐना नै फुटाए दिउझैँ पनि लाग्न सक्छ । घरि कसैको लोग्ने वा पे्रमीको निकै याद आउने वा माया लाग्ने र घरिघरि घृणा गर्ने पनि हुन सक्छ ।

आफूले भनेको जस्तो भएन भने मेरो यो संसारमा कोही छ्रैन् । सबैले मलाई हेप्छन्, भन्ने जस्तो सोचहरु पिडित महिलामा आउने गर्दछ । भर्खरै रमाई रहेको महिलाहरु पनि सानो–सानो कुरामा पनि मर्छु कि जस्तो व्यवहार गर्ने गर्दछन् ।

पीएमएस र पीएमडीडीको उपचारहरु के हुन् ?
पीएमएस र पीएमडीडीको औषधी उपचारमा खासै धेरै फरक छ्रैन् । तर व्यक्ति अनुसारको लक्षण भने फरक फरक हुने गर्दछ । त्यसैले उपचार बिधि पनि फरक पर्न सक्छ ।

यसरी गर्नुहोस पीएसएमको उपचार:
दुखाई कम गर्न फाम्रेसीमा पाउने सामान्य पेनकिलर प्रयोग गर्न सकिन्छ । शारीरिक ब्यायाम धेरै गर्ने । भिटामिन बि सिक्स, भिटामिन–इ, क्यालसियम, शाहाकारी खाना बढी खाने । गुलियो कम खाने । नुनको कम प्रयोग गर्ने ।

पीएमडीडीको उपचारमा माथि उल्लेखित टिप्सहरुलाई फ्लो गर्ने र त्यसो गर्दा पनि भएन् भने डिपे्रस्ड मुडको औषधी समेत प्रयोग गर्न सकिन्छ । कोही कोहीको केशमा भने हर्मोन रिप्लेसमेन्ट समेत गर्नुपर्ने हुन्छ । तर हर्मोन रिप्लेसमेन्ट गर्नु अघि डाक्टरको प्रेष्कृपसन भने अनिर्वाय चाहिन्छ ।

पीएसएम र पीएमडीडीका केहि लक्षणहरु अन्य धेरै रोगसँग मिल्न सक्छ तर ति रोगका लक्षणहरु भन्दा पीएसएम र पीएमडीडीका लक्षणहरु अलि जटिल बन्ने गर्दछ । त्यसैले महिलाहरुमा मेजर डिप्रेसन, प्यानिक डिस्अर्डर, माइग्रेन, थाइरोएड जस्ता लक्षणहरु देखिएमा तुरुन्त उपचारको लागि डाक्टरकोमा जानु उपयुक्त हुन्छ ।